उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको दि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट कोशी प्रदेशमै होटल म्यानेजमेन्ट अध्ययनका लागि अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।
एसईईपछि होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूको रोजाइ बन्दै गएको यस कलेजले छोटो समयमै उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षाका कारण विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भएको हो । आठ वर्षअघि केवल ३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा हाल २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । झापा, मोरङ, इलाम र सुनसरीलगायत जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । कलेजबाट हालसम्म ८ सयभन्दा बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेको संस्थापक साजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थी विश्वका विभिन्न देशमा पुगेर राम्रो आम्दानीसहित पेशागत सफलता हासिल गरिरहेका छन् ।
कलेजले केवल सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यवहारिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिएको छ । विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी बनाउने उद्देश्यले होटल म्यानेजमेन्टका आधारभूत प्राक्टिकलसँगै बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, प्राथमिक उपचार तथा व्यक्तित्व विकासजस्ता अतिरिक्त प्राक्टिकल कक्षाहरू सञ्चालन गरिँदै आएको छ । विद्यार्थीको सहजताका लागि कलेजले यातायात सुविधासमेत उपलब्ध गराउँदै आएको छ । होटल म्यानेजमेन्ट अध्ययनले विद्यार्थीलाई रचनात्मक, जिम्मेवार र व्यवहारिक बनाउने विश्वास कलेजको छ । यस विषय अध्ययन गर्दा विभिन्न देशका भाषा, संस्कृति र आतिथ्य क्षेत्रबारे ज्ञान हासिल गर्ने अवसर प्राप्त हुने तथा एकभन्दा बढी करियर विकल्प खुल्ने बताइन्छ । अन्तर्राष्ट्रिय भ्रमणको अवसर, सम्मानजनक पेशा, उच्च आम्दानी र विश्वव्यापी रोजगारीको सम्भावना यस विषयका मुख्य आकर्षणका रूपमा रहेका छन् । यहाँ अध्ययन गरेका विद्यार्थी होटल, रिसोर्ट, रेष्टुरेन्ट, एयरलाइन्स, एयरपोर्ट, ट्राभल एजेन्सी, टुरिस्ट गाइड, बैंक तथा विभिन्न मल्टिनेशनल कम्पनीहरूमा समेत कार्यरत रहेका छन् । कलेजका अनुसार होटल म्यानेजमेन्ट अध्ययन गरेका दक्ष जनशक्तिको माग स्वदेशदेखि विदेशसम्म उच्च रहेको छ ।























