मोरङको उर्लाबारी नगरपालिका–७ मा नयाँ शैक्षिक संस्था ‘सरस्वती एकेडेमी’ सञ्चालनमा आएको छ । प्रारम्भिक चरणमा प्ले ग्रुप र नर्सरी तहसम्मको कक्षा सञ्चालन गर्दै एकेडेमीले औपचारिक रूपमा आफ्नो शैक्षिक यात्रा सुरु गरेको हो ।
याम सेम्बु लिम्बूको लगानीमा स्थापना गरिएको एकेडेमीमा सुरुवातमै १५ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको जनाइएको छ । आधुनिक शिक्षण पद्धति, बालमैत्री वातावरण तथा गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ एकेडेमी सञ्चालनमा ल्याइएको लिम्बूले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा थप लगानी विस्तार गर्दै पूर्वाधार, शैक्षिक सामग्री तथा दक्ष जनशक्ति व्यवस्थापनमार्फत सरस्वती एकेडेमीलाई उर्लाबारीकै नमूना शैक्षिक संस्थाको रूपमा विकास गर्ने योजना रहेको छ । स्थानीय अभिभावकहरूको माग र गुणस्तरीय प्रारम्भिक शिक्षाको आवश्यकता महसुस गर्दै एकेडेमी स्थापना गरिएको बताइएको छ। बालबालिकाको समग्र विकासमा केन्द्रित पाठ्यक्रम र सिर्जनात्मक सिकाइ वातावरणमार्फत उत्कृष्ट नतिजा दिने लक्ष्य राखिएको विद्यालय प्रशासनले जनाएको छ । एकेडेमी सञ्चालनमा आएसँगै स्थानीय स्तरमै साना बालबालिकाका लागि गुणस्तरीय शिक्षा पाउने विकल्प थपिएको भन्दै अभिभावकहरूले खुशी व्यक्त गरेका छन् ।























