उर्लाबारी । ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस सिजन–४’ को बहुप्रतीक्षित ग्रान्ड फिनाले आगामी २०८३ साल साउन १५ गते शुक्रबार उर्लाबारीस्थित होटल ग्रान्डमा साँझ ५ बजेदेखि आयोजना हुने भएको छ ।
सो प्रतियोगिता बालबालिकामा रहेको सिर्जनात्मक प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले अलराउन्ड डान्स स्टुडियोद्वारा आयोजना गरिएको हो । विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको अलराउन्ड डान्स स्टुडियोले यसपटकको प्रतियोगितालाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको जनाएको छ । प्रतियोगितामा सहभागी बालबालिकाले विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धासम्मको यात्रा तय गरेका छन् । अब उनीहरूले ग्रान्ड फिनालेमा आफ्नो प्रतिभा, आत्मविश्वास, प्रस्तुति कला, व्यक्तित्व तथा सिर्जनशीलताको प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताबाट कुल ६ जना विजेता घोषणा गरिनेछ । जसअनुसार दुई जना विजेताले जनही रु २० हजार, दुई जनाले फस्ट रनरअपले जनही १५ हजार तथा दुई जना सेकेण्ड रनरअपले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नगद पुरस्कारसँगै विजेताहरूलाई क्राउन, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यति मात्र होइन, प्रतियोगिताका विजेताहरूलाई आइजोन इन्टरनेटको तर्फबाट एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा समेत उपलब्ध गराइने आयोजकले जनाएको छ । यसले पुरस्कारलाई थप आकर्षक बनाएको छ ।
आयोजक टिमका राजीव दियालीका अनुसार प्रतियोगिताको उद्देश्य केवल उपाधि वितरण गर्नु मात्र नभई बालप्रतिभालाई भविष्यका लागि उचित प्लेटफर्म उपलब्ध गराउनु पनि हो । उनका अनुसार प्रतियोगिताका विजेताहरूले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् । साथै उनीहरूलाई प्रत्यक्ष अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रवेशको अवसर समेत प्रदान गरिनेछ, जसले उनीहरूको कला र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतियोगिताको कोरियोग्राफी मिस उर्लाबारी सिजन–३ की विजेता दिया दाहालले गर्नुभएको छ । उहाँले प्रतियोगीहरूलाई र्याम्प वाक, स्टेज प्रेजेन्टेसन, आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास तथा समग्र प्रस्तुति सुधारका लागि निरन्तर प्रशिक्षण दिँदै आउनुभएको छ । आयोजकका अनुसार प्रतियोगीहरूको प्रस्तुति यसपटक दर्शकका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ । ग्रान्ड फिनालेमा बालप्रतिभाको प्रतिस्पर्धासँगै विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, विशेष अतिथि कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति तथा सम्मान कार्यक्रम समेत समावेश गरिनेछ । यसले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ ।
अलराउन्ड डान्स स्टुडियोले विगतदेखि नै उर्लाबारी तथा आसपासका क्षेत्रका बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । प्रतियोगिता मार्फत धेरै बालबालिकाले सार्वजनिक मञ्चमा उभिने अवसर पाएका छन् भने कतिपयले मोडलिङ, अभिनय, नृत्य तथा मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने प्रेरणा समेत प्राप्त गरेका छन् । यही कारण प्रतियोगिताले स्थानीयस्तरमा मात्र होइन, प्रदेश स्तरमै लोकप्रियता हासिल गर्दै गएको आयोजकको दाबी छ । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, व्यवसायी, शिक्षा क्षेत्रका प्रतिनिधि, अभिभावक तथा कला–संस्कृतिप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । आयोजकले प्रतियोगीहरूको हौसला बढाउन समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक, शुभेच्छुक तथा सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ । बालप्रतिभाको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस सिजन–४’ को ग्रान्ड फिनालेले उर्लाबारीमा कला, संस्कृति र प्रतिभाको उत्सवका रूपमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

























