उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३, मंगलबारे चोकबाट करिब २ किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको छ, बेतिनी सिमसार । उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र ६१ हेक्टरमा फैलिएको उक्त सिमसार व्यवस्थित पयर्टकीय स्थलमा रूपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले दोस्रो स्थापना दिवसको सन्दर्भमा नगरलाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरेको थियो ।
सोहीअनुरूप नै सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाउने जमर्को भइरहेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक निर्माणलगायतका कार्य सम्पन्न भइसकेका छन् भने बनकै हाताभित्र बाल उद्यान निर्माण भएको कोषध्यक्ष ज्योति थापाले जानकारी दिनुभयो । समितिले सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन आकर्षक फलैँचा, फूलबारी, सेल्फी डाँडालगायत निर्माणको क्रममा रहेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले बताउनुभयो । सिमसार क्षेत्रमा रहेको पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा राखिएका तीनवटा बाघका प्रतिमालाई बाल उद्यानमा स्थानान्तरण गरिएको छ । त्यस्तै, सिमसार क्षेत्रमा वन्यजन्तु आरक्षण स्थलसमेत निर्माण भइरहेको छ । प्रदेश सरकारबाट गत आर्थिक बर्षमा २० लाख रुपैयाँ र वन समितिबाट ७ लाख रुपैयाँ गरी २७ लाख रुपैयाँ लगानीमा आरक्षण स्थलका लागि संचरना तयार थालिएको थियो । यस बर्ष प्रदेश पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भएको छ । करिब ६ विघा क्षेत्रफलमा पिल्लरसहित घेराबारा गरी बन्यजन्तु संरक्षण केन्द्र बनाइने र सो केन्द्रमा एउटा पोखरीसमेत निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।
त्यस्तै, राष्ट्रपति चुरे तराई मधेश विकास समितिबाट गत आर्थिक बर्षमा १५ लाख रुपैयाँ विनियोजन भएको थियो । सो रकमबाट पोखरीमा आकर्षक रेलिङ निर्माण गरिएको छ । यस आर्थिक बर्षमा २० लाख विनियोजन भएको र त्यो रकमबाट अर्को पोखरी निर्माण थालिएको जनाइएको छ । पहिलो पोखरी पानीको मुख्य स्रोतको रुपमा रहेको, दोस्रो ठूलो पोखरी बोटिङ स्थल र तेस्रो पौडी पारखीहरुका लागि बनाइएको कोषाध्यक्ष थापाको भनाई छ । एकान्त र सुन्दर वातावरण रहेका कारण पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने अध्यक्ष राईको भनाइ छ । ‘हामीले सिमसारलाई पूर्वकै नमूना पयर्टकीय स्थल बनाउने जमर्को गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘अझै सिमसारलाई व्यवस्थित बनाउन बाँकी नै छ ।’ हालसम्म सिमसारको विकासमा दुई करोडभन्दा बढी रकम खर्च भइसकेको छ ।
सिमसारमा डुङ्गा सञ्चालनमा रहेका छन् । सिमसार क्षेत्रमा दैनिक ४÷५ सय आन्तरिक पर्यटकहरू आउने गरेका छन् भने बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुने गरेको समितिका सदस्य मिलन दाहालले जानकारी दिनुभयो । सिमसार क्षेत्रको विकासका लागि ३३ करोडको गुरुयोजना तयार भइसकेको छ । हाल दुई वटा पोखरी रहेका छन् । पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढेपछि पोखरीमा अहिले पौडी खेल्न रोक लगाइएको छ ।
छुट्टीको समयमा सिमसार क्षेत्रमा वनभोज खान र घुम्नका लागिसमेत आन्तरिक पर्यटकहरू आउने गरेका छन् । २०६३ सालदेखि नै सिमसारलाई पयर्टकीय क्षेत्र बनाउने भन्दै बेतिनी सिमसार तथा मिक्लाजुङ पर्यटन एकीकृत विकास संघ गठन गरिएको थियो । उक्त सामुदायिक वन क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पतिहरू पाइन्छन् ।
चराचुरुङ्गीहरूमा मैना, लुइँचे, धनेश, मयुर, बट्टाई, हाँडीफोर, बकुल्लालगायत पाइन्छन् । यसैगरी सो स्थान आसपास मृग, हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायतका जीवजन्तुहरू पाइन्छन् ।
सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, कवै, चाप, सिमसाग, भुइँचम्पा, ओरेसा, सुनाखरी, लौठसल्लाजस्ता लोपोन्मुख वनस्पतिहरू समेत रहेका छन् । थुप्रै प्रकारका स–साना जीवजन्तुहरू समेत यहाँ देख्न पाइन्छ । सुन्दर र एकान्त वातावरणमा रहेका कारण पनि पर्यटकहरूका लागि पहिलो रोजाइमा बेतिनी सिमसार पर्ने गरेको स्थानीय युवा मनोज बुढाथोकी बताउनुहुन्छ । सिमसारलाई अझै व्यवस्थित रूपमा अगाडि बढाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने थुप्रै सम्भावनाहरू रहेको उहाँको धारणा रहेको छ ।
सो सिमसार पर्यटकीय केन्द्रका साथै विद्यार्थीहरूको लागि अध्ययन गर्ने थलोको रूपमा विकास हुन सक्ने भएकाले त्यसको संरक्षण र विकास गर्न आवश्यक छ । साथै प्रेमजोडीहरूका लागि पनि राम्रो ‘डेटिङ’ स्पट बनिरहेको छ, बेतिनी सिमसार । सिमसारमा बर्खाको भेलबाढीमा समेत पानी नधमिलिने तथा जुनै मौसममा पनि पानी घटबढ नहुने अनौठो विशेषता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!