काठमाडौं, नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन्।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच हिजो बिहीबारदेखि निरन्तर कुराकानी जारी रहे पनि कुनै सहमति हुन नसकेको हो।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ नेता नेपालले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उनले बताएका छन्।

‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय