उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर कर्मचारीको रजाईका कारण बेहाल बनेको छ ।
कुनै समय बिरामीको संख्या अधिक हुने यो अस्पतालमा अहिले न्यून संख्यामा बिरामीहरु आउने गरेका छन् । पछिल्लो समय बिरामीहरु बिमाको रेफरका लागि मात्रै जाने गरेका छन् । उर्लाबारीमा रहेका निजी अस्पतालमा बिरामीको भिड छ । तर, मंगलबारेमा रहेको यो सरकारी अस्पतालको बेहाल छ । अहिले कहिले काँही २÷४ जना बिरामी मात्रै आउँछन् । अधिकांश भवनमा कर्मचारीले आवासका लागि प्रयोग गरेको पाइएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहितको टोलीले अस्पताल अनुगमन गर्ने क्रममा कर्मचारीको रजाई रहेको पाइएको थियो । कोरोनाको महामारीको अवस्थामा अस्पतालमा बिरामी नहुँदासमेत कोभिड अस्पताल बनाउने विषयमा कर्मचारीहरुको आनाकानीमा सञ्चालक समिति निरीह सावित बनेको थियो । नयाँ भवनमा पहिलो तल्लामा ओपिडी, दोस्रो तल्लामा बिरामी राख्ने र तेस्रो तल्लामा कर्मचारीले आवासका लागि प्रयोग गर्ने गरेको पाइयो । दोस्रो तल्लामा एक जना बिरामी थिए । सो तल्लामा कोभिड अस्पताल बनाउने विषय चल्यो । तर, कर्मचारीहरुले माथिल्लो तल्लामा आवास भएकाले दोस्रो तल्लामा कोभिड अस्पताल बनाउने विषयमा सहमत बनेनन् । त्यसपछि सञ्चालक समिति पूरानो भवनमा १० बेडको कोरोना अस्पताल बनाउने कुरामा तयार भयो । पूरानो भवनमा अवस्थित भएकाले त्यहाँ कोरोना संक्रमितलाई राख्न असहज हुने उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले धारणा राख्नुभयो । कर्मचारीको जोडबल कै कारण पूरानो भवनमा कोरोना अस्पताल तयार गर्न थालिएको छ । प्रदेश नं. १ सरकारको मातहतमा रहेको उक्त अस्पतालमा कर्मचारीको मनपरीतन्त्र रोक्न सञ्चालक समितिले सकेको छैन । सरकारले ठुलो लगानी गरेको मदन भण्डारी अस्पताल आफै बिरामी बनेको छ । राजनीति खिचातानीको शिकार बनेको उक्त अस्पतालको सञ्चालक समितिले बिरामीहरु उपचारका लागि आउन सक्ने वातावरण तयार गर्न अतिआवश्यक छ । अस्पतालको अधिकांश भवन कर्मचारीले आवासका लागि प्रयोग गर्ने गरेको एक सञ्चालक समितिका सदस्यले बताए । पूरानो भवन उत्तरको भवन पनि आवासमै प्रयोग रहेको छ । कर्मचारीको इशासामा सञ्चालक समिति नाचिरहेका छन् । यस विषयमा उर्लाबारी नगरपालिका मेयर फागोले प्रदेशको मातहतमा रहेको अस्पतालले यो महामारीको अवस्थामा सेवाग्राहीको हितमा रहेको काम गर्नु पर्ने बताउनुभयो । पहिला उर्लाबारी नगरबासीलाई सुरक्षित राख्न सक्नु पर्ने बताउँदै सबैले यो अवस्थामा आफ्नो स्वार्थभन्दा माथी उठेर नगरबासीको हितमा लाग्न जरुरी रहेको मेयर फागोले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय