
उर्लाबारी । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएसँगै मोरङको उर्लाबारीमा ११ बेडको कोभिड अस्पताल बनाउन थालिएको छ ।
उर्लाबारी–८ स्थित राजघाट स्वास्थ्य चौकीमा ११ बेडको अस्पताल बनाउन थालिएको हो । उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नगरपालिकाले इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने तयारी थालेसँगै सञ्चालक समितिले भवन नदिने निर्णय गरेको थियो । अब्यवस्थित रुपमा रहेको पूरानो प्रसुती भवनमा कोभिड अस्पताल बनाउने निर्णय गरेसँगै नगरपालिकाले राजघाट स्वास्थ्य चौकीको भवनलाई रोजेको छ । जेठ १ गतेदेखि कोभिड अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । अस्पतालका लागि डाक्टरसहितको अक्सिजनको ब्यवस्था मिलाइएको उहाँको भनाई छ । उहाँले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल कोभिड अस्पताल सञ्चालनको तयारीमा नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गर्नुभयो । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनु नपरोस् भन्ने हेतुले नगरपालिकाको क्षमताले भ्याएसम्म भरपुर साथ र सहयोग रहने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले नगरबासीहरुलाई निषेधाज्ञा पूर्ण रुपमा पालना गरी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पनि आब्हान गर्नुभएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवाका अब जनताको घरदैलोमै पु¥याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । कोरोनाको संकटको बेला स्थानीय सरकारले खेल्नु पर्ने हरेक भूमिकामा अग्रभाग रहेर जनताको सेवामा समर्पित रहने उहाँको भनाई छ । साथै कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सको ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।