
उर्लाबारी । पहिलो चरणको कोरोना भाइरसको संक्रमण फैलिएसँगै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको चौतर्फी चर्चा थियो । कारण थियो, उहाँले चलाएको ‘भाटे कार्वाही’ । मान्छे मरेपछि लास उठाउनुभन्दा मृत्युबाट जोगाउन भाटा उठाउँछु भन्दै चलाएको भाटे कार्वाहीको चर्चा र विरोध दुबै भयो । तर, अधिकांशले मेयरको प्रशंसा गरेका थिए । यसबीचमा निकै चर्चा र विवाद पनि रह्यो । यसमा बाबजुद पनि मेयर फागो निरन्तर रुपमा जनताको सेवामा समर्पित रहिरहनु भएको छ । यतिबेला दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएको छ । यसबाट मोरङको उर्लाबारी पनि अछुतो छैन । ७ जनाको मृत्यु भइसकेको छ भने ८५ जना संक्रमितको संख्या पुगिसकेको छ । मेयर फागो अक्सिजनको अभावमा कसैको मृत्यु हुनु नपरोस् भनेर उर्लाबारीमै कोभिड अस्पताल सञ्चालनमा लागि लागि पर्नुभएको छ । उहाँ आफै कोरोना अस्पताल बनाउन तथा सामान जुटाउन खटिरहनु भएको छ । उर्लाबारी–८ को राजघाट स्वास्थ्य चौकीमा ११ बेडको कोभिड अस्पताल बनाउने कार्य अन्तिम चरणमा छ । जेठ १ गतेदेखि सुरु गर्ने तयारीका साथ काम भइरहेको छ । डाक्टरसहितको टोली यतिबेला तयार पारिएको छ । अक्सिजनहरु १० थान ल्याइसकेको छ । बेडहरु तयार छन् ।
उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल सञ्चालन गर्ने तयारी भएपनि सञ्चालक समिति र कर्मचारीहरुको अवरोधका कारण राजघाट लगिएको हो । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि १० बेडको अस्पतालले नै तयार गरेको जानकारी आएको छ ।
राजघाट स्वास्थ्य चौकीमा पहिलो चरणमा ११ बेडको र क्रमशः आवश्यकता अनुसार थप गर्दै अघि बढाउने तयारी भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल कोभिड अस्पताल सञ्चालनको तयारीमा नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गर्नुभयो । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनु नपरोस् भन्ने हेतुले नगरपालिकाको क्षमताले भ्याएसम्म भरपुर साथ र सहयोग रहने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले नगरबासीहरुलाई निषेधाज्ञा पूर्ण रुपमा पालना गरी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पनि आब्हान गर्नुभएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवाका अब जनताको घरदैलोमै पु¥याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । कोरोनाको संकटको बेला स्थानीय सरकारले खेल्नु पर्ने हरेक भूमिकामा अग्रभाग रहेर जनताको सेवामा समर्पित रहने उहाँको भनाई छ । साथै कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सको ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यस्तै, अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमु, डाक्टर सन्दिप अधिकारी, उर्लाबारी नगरपालिकाका स्वास्थ्य शाखाका टिम कोरोना अस्पताल निर्माणमा खटिएका छन् । यो विषम परिस्थितिमा सबै मिलेर अघि बढ्नु पर्ने आवश्यकता रहेको अरनिको हस्पिटलका लोलिम पोमुको भनाई छ । त्यस्तै, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीलगायतसमेत कोभिड अस्पताल निर्माणमा जुटिरहेका छन् ।