
उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ८ मा उर्लाबारी नगरपालिकाले शुक्रबार देखि कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
राजघाट स्वास्थ्य चौकीको भवनमा ब्यवस्थित ११ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । शुक्रबार नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नं. ८ वडाका वडाध्यक्ष कुलबहादुर कार्कीले उक्त अस्पतालको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । कोभिडको दोस्रो लहरसँगैै नगरमा संक्रमितको संख्या बृद्धि हुन थालेपछि नगरबासीको स्वास्थ्य सुरक्षाको लागि अक्सिजनसहितको अस्पताल सुरु गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।
अक्सिजनको अभावमा उर्लाबारीबासीको मृत्यु नहोस् भनेर नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको र आवश्यकता अनुसार थप गर्दै लैजाने उहाँले बताउनुभयो । संक्रमित भएका नगरबासीहरुलाई स्वास्थ्य, यातायात, खाद्यान्नसहितका सबै सेवा निशुल्क प्रदान गरिने नगर फागो जानकारी दिनुभयो । मेयर फागोकै अग्रसरताका कारण आजै खानेपानी, विजुली तथा खाल्डी भएका स्थानमा माटो पुर्ने काम भएको छ ।
कोभिड अस्पताल आसपासका क्षेत्रमा समेत विजुली जडान गरी ब्यवस्थित बनाइएको छ ।