
विराटनगर । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।
आइतबार अध्यक्ष यादव विरुद्ध मुदा दर्ता भएको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।
गाउँपालिकामा जागिरको प्रलोभन दिएर सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएकी १७ वर्षीया बालिकालाई यादवले धरानस्थित डुकु होटलमा लगेर बलात्कार गरेको आरोप छ । उनलाई प्रहरीले वैशाख ८ गते पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान थालेको थियो । प्रहरीले घटनाको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर अदालतमा मुद्दा दर्ता गरेको हो ।
यादवसँग अदालतले आज बयान लिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि यादवविरुद्धको मुद्दामा अदालतले थुनामा राखेर पुर्पक्ष गर्ने वा धरौटीमा छाड्ने आदेश दिनेछ ।
होटलमा लगेर गाउँपालिका प्रमुख यादवले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी पीडित बालिकाकी झड्केली आमा भने अभियुक्तलाई बचाउने खेलमा लागेको बताइएको छ । उनले छोरीमाथि यादवले बलात्कार नगरेको भन्दै उनकै रिहाईको माग राखेर गत मङ्गलबार उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
साथीसँग खाजा खानका लागि धरान गएको अवस्थामा अध्यक्षसँग भेट भएपनि बलात्कार नगरेको उनको दावी छ । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले बिहीबार सुनुवाई गर्दै रिट खारेज गरिदिएको छ ।
यसअघि छोरीमाथि बलात्कार गरेको भन्दै उनै झड्केली आमाले किटानी जाहेरी दिएपछि प्रहरीले यादवमाथि अनुसन्धान अघि बढाएको थियो । घटनामा आर्थिक चलखेल गरेर अभियुक्तलाई उम्काउने प्रयास भइरहेको देखिएको छ ।