
लेटाङ । दोस्रो लहरको कोरोना संक्रमण तीब्र रूपमा फैलिँदै ग्रामिण क्षेत्रका गाउँहरुमा पनि संक्रमण देखिन थालेपछि मोरङको लेटाङ प्रवेश गर्ने नाकाहरूमा कडाइ गरिएको छ ।
महामारीको रूपमा फैलिएको संक्रमण रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीसहित लेटाङका शिक्षक, सहकारीकमा कर्मचारीहरू स्वयमसेवकको रूपमा खटिन थालेका छन् ।
उनीहरूले लेटाङ २ वडा प्रवेश गर्ने नाकाहरूमा अहिले कडाइ चेकजाँच र प्रशासन लागू गरेको निषेधाज्ञा पालाना गराउन लागी परेका छन् । आइतबार लेटाङ २ को वडा कार्यलयमा सरोकारवालाहरुको बैठक बसेर वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सहकारी संस्थाका कर्मचारीहरुलाई सोमबारबाट स्वयमसेवकको रुपमा परिचालन गर्ने निर्णाय गरेको थियो ।
निर्णय अनुसार सोमबार बिहानदेखि कर्मचारीहरू लेटाङ प्रवेश गर्ने सीमा नाकाहरूमा चेकजाँचमा खटिएका छन् । यसअघिसम्म वडामा रहेको बुधबारे प्रहरी चौकी र जनप्रतिनिधिहरुको सिमित जनशक्तिबाट २ वटा नाकाहरुमा ड्युटी गरि वडा सिल गरिएको थियो । अब थप दुई स्थानमा प्रहरी र स्वयम्सेवक परिचालन गरि शिललाई ब्यबस्थापन गर्न लागिएको हो ।
बिपदको समयमा नागरिकको रक्षाको लागि प्रत्येक नागरिकले योगदान गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै पहिलो चरणमा सरकारी बिद्यालयका शिक्षक तथा सहकारी संस्थाका कर्मचारीलाई परिचालन गरिएको लेटाङ २ नम्बर वडाका अध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए । वडामा हालसम्म ३६ जनामा कोरोना संक्रमण देखिएको छ । थप संक्रमण बढ्न नदिन वडालाई पुर्ण रुपमा सिल गरिएको उनले जानकारी दिए ।
संक्रमण बढन नदिन सरकारी बिद्यालय तथा सहकारीका कर्मचारीहरुले स्वतस्फुर्त स्वयम्सेवक बनेर लागिपरेका छन् । हाल लक्ष्मी माबी र हिमचुली प्राबिका शिक्षक तथा जनचाहना साकोसका कर्मचारीले प्रहरीलाई सहयोग गरिरहेका छन् ।
वडाका ३५ जनाभन्दा बढि कर्मचारीहरुले पालो सिस्टमबाट (बिहान ५ः०० बजेबाट साझ ६ः०० बजेसम्म) जेठ ११ गतेसम्म ४ वटा नाकाहरुमा स्वयम्सेवकको रुपमा प्रहरीलाई सहयोग गर्नेछन् । यसको लागि वडा कार्यलयबाट स्वास्थ्य सामग्री, परिचय कार्ड र दिवा खाजाको ब्यबस्थापन हुनेछ ।
स्वयमसेवकहरुले नाकामा ड्युटीसँगै गाउबस्तीमा संक्रमण मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको बिवरणसमेत वडा कार्यलयमा बुझाउने छन् ।