
उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको भएपनि निषेधाज्ञा फितलो भएको भन्दै एक साता पूर्ण निषेधाज्ञा गर्न माग गरिरहेका छन् ।
उर्लाबारीका युवा ब्यवसायी योगराज कार्कीले सामाजिक सञ्जालमा लाइभमा आएर उर्लाबारीमा जोखिम बढेकाले निषेधाज्ञा कडा बनाउन माग गर्नुभयो । उहाँले बैंक तथा वित्तिय संस्थामा अत्याधिक भिड बढेको र केही ब्यापारीहरु पैसामा मरिहत्ते गरिरहेकाले उर्लाबारीबासी समस्यामा परेको भन्दै सम्बन्धित निकायले गम्भिर बन्नु पर्ने सुझाव दिनुभयो । उर्लाबारीलाई कोरोनाबाट बचाउनु सबैको दायित्व भएकाले थप कडाई गर्न ढिलाई गर्न नहुने उहाँको भनाई छ । कार्कीजस्तै धेरैले एक साता पूर्ण निषेधाज्ञा गर्न माग गर्दै आएका छन् । उर्लाबारीका अर्का युवा ब्यवसायी पूर्ण सिंगकले पनि पूर्ण निषेधाज्ञा गर्नु पर्नेमा जोड दिनुभयो । आफु र नगरलाई सुरक्षित बनाउन अतिआवश्यक रहेको उहाँको भनाई छ । यो विषम परिस्थितिमा सबैले निषेधाज्ञाको पालना गरी घरमै बस्न पनि उहाँले सुझाव दिनुभयो । नगरपालिकाले तीन दिन बैंक तथा वित्तिय संस्था खोल्ने निर्णय गरेपनि अधिकांश सहकारी संस्था पूर्ण बन्द भइसकेका छन् । टिपर, ट्याक्टरलाई छुट दिने र अरुलाई रोक्ने काम भइरहेको भन्दै त्यसको पनि विरोध भएको छ ।