
राजविराज, ४ जेठ । सप्तरी जिल्लामा सप्तकोशी नगरपालिकाकी उप–मेयर आशा चौधरीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
उप–मेयर चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।
१० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो ।
थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्रीमान् र ७ वर्षका एक छोरा छन् ।