उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरससँगै सरकारले गरेका निषेधाज्ञाका कारण समस्यामा परेको मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमा सहयोग जुट्न थालेको छ ।
दाताहरुकै भरमा चल्दै आएको आश्रममा कोरोना र निषेधाज्ञाका कारण दैनिक उपभोगिय वस्तुहरुको अभाव देखिन थालेपछि सहयोग जुट्न थालेको हो । नेपालभरीका ५३ जना बालबालिकाहरु गृहमा आश्रित रहेका छन् । उर्लाबारी निवासी हङकङमा रहनु भएकी अस्मिता वाइबाले बाल गृहलाई १५ हजार बराबरको खाद्य सामग्री प्रदान गर्नुभएको छ । वाइबाले सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतको माध्यमबाट बाल गृहमा सहयोग गर्नुभएको हो । वाइबाले आलु २५ केजी, प्याज १५ केजी, माक्स ३ बण्डल, डिटोल साबुन २४ थान, कोलगेट ६ थान, व्हील सरफ ६ थान, चिनी १० केजी, आयोनुन १० प्याकेट, चिया रंग १ केजी, सुजी ४ प्याकेट, चना २५ केजी, भुजा १३ केजी, चिउरा २० केजी, सोयाविन ५ केजी (एक बोरा), विस्कुट १ कार्टुन, चाउचाउ २ काटुन र साबुन १ कार्टुन (३० थान) सहयोग गर्नुभएको छ । वाइबाले बाल गृहमा आफ्नो जन्मदिनको अवसरमा प्रत्येक बर्ष सहयोग गर्दै आउनु भएको छ भने अन्य गरिब तथा विपन्न समुदायलाई समेत सहयोग गर्दै आउनु भएको छ । सहयोगी वाइबाले टेलिफोन सम्पर्कमा भन्नुभयो–‘आफुले सकेको सहयोग निरन्तर गर्दै जाने छु ।’
गृहकी अध्यक्ष मिना बरालले दाताकै भरमा चल्दै आएको आश्रम कोरोनाका कारण प्रभावित बनेको बताउनुभयो । दैनिक आवश्यक खाद्य सामग्रीहरुको अभाव रहेको उहाँले जानकारी दिनुभयो ।























