मोरङ । मास्कको कालोबजारी गरेको अभियोगमा अधिकारी फार्मेसीका सञ्चालक भुपेन्द्र नाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–९ का ३१ वर्षीय अधिकारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ । अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पतालअगाडि सञ्चालन गर्दै आएको फार्मेसीबाट सुनसरी नगरपालिका–७ का ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५०० रुपैयाँमा विक्री गरेको प्रहरीको भनाइ छ ।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई १ थान सिलिकन फूल फेस मास्कसहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो ।
उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।























