उर्लाबारी । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनालाई उल्घंन गर्दै सञ्चालनमा आएका पसलहरु बन्द गराइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकाका नगर प्रहरीको संयुक्त टोलीले खाद्यान्यलगायत अतिआवश्यकबाहेक सम्पूर्ण पसल बन्द गराएको हो । अधिकांशले आधा सटर खोलेर ब्यापार गरेको पाइयो । मोबाइल पसलदेखि रक्सी भट्टीसम्म खुलेका थिए । कोरोना भाइरसको संक्रमण उर्लाबारीमा अत्याधिक बढेकाले खाद्यान्य र अतिआवश्यकबाहेक सम्पूर्ण पसल बन्द गरिएको भएपनि अधिकांश ब्यापारीहरुले अटेर गर्ने गरेको पाइएको छ । नगर प्रहरी प्रमुख याम कार्कीले पहिलो चरणमा सचेत गराइएको र भोलीदेखि ताला लगाउने जानकारी दिनुभयो । थप प्रभावकारी अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले तोकेबाहेकका सबै पसल बन्द गराउन खटिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सबैलाई कोरोनाको विषम परिस्थितिमा सबैले निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न अपिल गर्नुभएको छ ।























