
उर्लाबारी, दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण गाउँवासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि पुर्वोत्तर मोरङको मिक्लाजुङमा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आफ्ना विभिन्न पहलकदमी थालेको छ । संक्रमितहरुको खोजी गर्दै उनीहरुको घरमा सेनिटाइज गर्दै मास्कलगायतका सामग्री प्रदान गरिएपछि स्थानीयवासीमा पनि आडभरोसा मिलेको पाइएको छ । भाइरस प्रतिरोधि सुरक्षा सचेतना अपनाउदै वाइसीएलले गाउँ तथा घरमा अभियान थालेपछि नागरिकहरु खुशी हुन थालेको मिक्लाजुङ–३ का कुमार मगरले बताए । उनले भने, ‘गाउँमा वाइसीएल साथीहरु औषधि लिएर आउन थालेका छन्, अब त कोरोना लागेपनि बचिन्छ होला भन्ने आशा जगाएको छ ।’
मिक्लाजुङको टाँडीमा कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि वाइसीएलले स्थानीयवासीका घरघरमा गएर संक्रमितको खोजी गर्ने अभियान थालेको हो । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुसंग समन्वयगरी बिरामीहरुको एन्टिजेन परीक्षण गर्न व्यवस्था मिलाइएको वाइसीएल मोरङका सदस्य मदन पौडेलले जानकारी दिए । पौडेलका अनुसार संक्रमणका समयमा अपनाउने सचेतनाका बारेमा प्रशिक्षण समेत दिने गरिएको छ । संक्रमण फैलिन नदिन पहिलो चरणमा साविकको टाँडी गाविसका संक्रमितहरुका घरलाई नै सेनिटाइजेशन गर्न थालिएको छ । यसको लागि वाइसिएलले आवश्यक पर्ने मेशिन खरिद गरेर ल्याएको छ ।
संक्रमित भेटिएको कारणले गाउँवासीहरुमा एकप्रकारको त्रास फैलिएको कारण सबैलाई ढुक्क बनाउन र संक्रमण फैलन नदिनलाई सेनिटाइज गरेको वाइसिएल मोरङका खेलकुद विभाग प्रमुख पर्वत कार्कीले बताए । पछिल्लो समय कोरोना संक्रमितको संख्या वढ्न थालेपछि ती संक्रमितहरु समेत बाहिर निस्केर हिड्दा झनै जोखिम वढेको हुँदा उनीहरुलाई घरमै गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण थालिएको हो । घरमै आएर मनोवल बढाई औषधी दिन थालेपछि कोरोना संक्रमितहरु पनि आफूलाई खुशी लागेको र मनोवल उच्च भएको बताउछन् । वाइसिएल मिक्लाजुङ कमिटीको आयोजनामा खटिएको टोलीमा सो संगठनका मोरङ जिल्ला सदस्यहरु मदन पौडेल, भानु चाम्लिङ, पर्वत कार्की, सुवास खड्का र बिनोद दर्नालले कोरोना संक्रमितहरुलाई परामर्श दिँदै आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् ।
यो अभियानले समुदायमा सकरात्मक सन्देश जाने र कोरोना संक्रमितहरुको पनि मनोवल उच्च रहने भन्दै जनप्रतिनिधीहरुले समेत यो अभियानलाई सकरात्मक रुपमा लिएका छन् ।