उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । कोरोनाको त्रास र निषेधाज्ञा जारी छ ।
पहिलो चरणको कोरोना नियन्त्रणका क्रममा लठ्ठी बोकेर निस्किनु भएका उर्लाबारीका मेयर खड्ग फागो दोस्रो चरणमा फरक भूमिकामा देखिनुभयो । पहिलो चरणमा कहिले लठ्ठी बोकेर त कहिले जनताको घरघरमा पुगेर समस्यामा परेकाहरुलाई राहत वितरण गरेर मेयर फागो चर्चामा आउनुभयो । पहिलो चरणमा सम्भवत नेपालकै सबैभन्दा कडा लकडाउन उर्लाबारीमै थियो । सो बखत मेयर फागोको नकारात्मकभन्दा बढी सकारात्मक नै प्रतिकृया आयो । पहिलो चरणको तुलनामा दोस्रो चरणको कोरोना भाइरसले उर्लाबारी बढी प्रभावित बन्न पुग्यो । दोस्रो चरणमा मेयर फागो स्वम् कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिहरुको शव ब्यवस्थापनमा जुट्नु भयो । परिवारकै सदस्यहरु शव ब्यवस्थापनमा जुट्न डराईरहेको अवस्था मेयर फागो स्वम्ले आधा दर्जन शबको ब्यवस्थापन गरिसक्नुभयो । अन्तेष्टीको अन्तिम समयसम्म पनि मेयर फागो बसेरै शब ब्यवस्थापन गर्ने गर्नुभएको छ । मेयर फागोकै नेतृत्वमा उर्लाबारी–८ मा विशेषज्ञ डाक्टरसहित ११ बेडको कोरोना उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ निःशुल्क रुपमा बस्ने र खाने ब्यवस्था मिलाइएको छ । यहाँ कुनै पनि शुल्क लाग्दैन । एन्टिजेन परिक्षणसमेत निःशुल्क छ । कोरोना संक्रमित विपन्न परिवारलाई घरघरमै खाद्यान्यसहित पोष्टिक सामाग्री प्रदान गर्ने कार्य मेयर फागोले नै सुरु गर्नुभएको छ । कोरोना संक्रमितको घरघरमा निरन्तर सेनिटाइजर गर्ने अभियान चलिरहेको छ । २४ सैं घण्टा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स र मृत्यु भएका कोरोना संक्रमितलाई बोक्ने शव बहानको ब्यवस्था रहेको छ । अन्य बिरामीहरुलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर आधारभूत सेवा केन्द्रबाट प्राप्त हुने सेवा प्रदान गर्न मेयर फागोको निर्देशन बमोजिम निरन्तर रुपमा स्वास्थ्यकर्मीहरु जनताको घरदैलोमा पुगिरहेका छन् ।
मेयर फागो चढ्ने गाडी यतिबेला विपन्नलाई खाद्यान्य वितरण, सेनिटाइजर गर्न, स्वास्थ्य सामाग्री ओसारपोसार गर्न, अक्सिजन ओसार्न प्रयोग हुँदै आएको छ । मेयर फागोले दोस्रो चरणको कोरोना फैलिएपछि जनताको सेवामा निरन्तर खटिरहनु भएको छ । मेयर फागो आफ्नै निजी गाडीमा जनताका सेवाको काममा खट्ने गर्नुभएको छ ।
मेयर फागोको जनता र नगरप्रतिको समर्पण सराहनीय छ । कोरोना भाइरसको सन्त्रास तथा निषेधाज्ञाको संवेदनशील एवं संकटपूर्ण समयमा प्रत्येक नगरबासीको आवश्यकता एवं चाहना अनुसार मेयर फागोको सहयोग गर्ने कार्यले नगरबासीले खुशी व्यक्त गरेका छन् ।























