सरोज बस्नेत

खोलैखोलाले घेरिएको नगरपालिका हो, उर्लाबारी । उर्लाबारीमा ९ वटा वडा रहेका छन् । उर्लाबारी हरेक हिसाबले सम्भावना बोकेको शहर हो । उर्लाबारी नगरपालिका पर्यटन विकासमा बढी मात्रामा सम्भावना बोकेको देखिन्छ । यस्ता पर्यटकीय सम्भावना धेरै छन् । ती मध्ये मूख्य केहीको यहाँ चर्चा गरिएको छ ।

बाल उद्यान


मोरङ जिल्लाकोे उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको मुख्य कार्यालयको गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै बाल उद्यानमा जननेता मदन भण्डारीको पूर्णकदको शालिक रहेको छ । शालिकसँगै बाल उद्यान पनि छ ।
पूर्वपश्चिम राजमार्गको उर्लाबारी–३ मंगलबारे थापा चौकबाट करिब ८०० मिटर दक्षिणमा रहेको उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल, चिप्लेटी,पिङ, फूलबारी,पानीको फोहोरालगायत रहेका छन् । बाल उद्यान मोरङको उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, मिक्लाजुङ, रतुवामाई, सुन्दर हरैंचाकासाथै झापा र सुनसरीका विभिन्न स्थानका बालबालिकालाई बिदाको समयमा आउने गरेका छन् । यो बाल उद्यान मनोरञ्जनसँगै शिक्षामूलक स्थानका रुपमा चिनिन थालेको छ । करिब १ करोड लागतमा निर्माण भएको उक्त उद्यान बालबालिकाहरुको आकर्षणको केन्द्र बनेको छ । प्रतिष्ठानकै हातामा निर्मित स्लाईडिङ पुल अर्को आकर्षण बनेको छ । गर्मीको समय पौडीको मज्जा लिनका सर्वसाधारण आउने गरेको छन् । यसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र भण्डारीको पूर्णकदको शालिक, संग्राहलय र बाल उद्यानले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको छ । विशेष गरेर शनिबार तथा विदाका दिन यहाँ आगन्तुक बढी आउने गरेका छन् ।

पूर्वाञ्चल बौद्ध गुम्बा


पूर्वी नेपालकै सबैभन्दा ठूलो र आकर्षक बुद्ध मूर्तिसहितको पूर्वाञ्चल बौद्ध गुम्बा उर्लाबारी वडा नं. ५ मा अवस्थित छ । यो एक धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित छ । २०५२ सालमा थाइल्याण्डका राजाको ५० औँ जन्मोत्सवको अवसरमा अष्ट धातुले बनेको ६ फिट उचाई र ३ सय केजी तौल भएको यो मूर्ति उपहार स्वरुप उर्लाबारीलाई प्रदान गरिएको थियो । यो गुम्बा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने गरिएको छ । गुम्बामा बौद्ध दर्शन सम्बन्धी पठन पाठन हुँदै आएको छ । सभाहल समेत रहेको यो गुम्बामा उर्लाबारी हुने अधिंकाश कार्यक्रम आयोजना हुने गरेका छन् । गुम्बाको अवलोकनका लागि नेपाल तथा भारतबाट समेत आउने गरेको अध्यक्ष महेन्द्रजंग तामाङको भनाई छ । गुम्बालाई रणनितिक योजनासहित विकास गर्न सके थप पर्यटकको आकर्षण बढ्ने देखिएको छ ।
बाँसेचौरी सिमसार


उर्लाबारी नगरपालिका वडा नं. २ मा रहेको बाँसेचौरी सिमसार क्षेत्र आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । सुनझोडा सामुदायिक वन समूहको हाताभित्र एकान्त वातावरणमा रहेका यस क्षेत्रमा वनभोजका लागि मानिसहरु आउने गरेका छन् । ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तरमा रहेको बाँसेचौरी तथा सिमसारलाई समेत ब्यवस्थित गर्न आवश्यक देखिन्छ । सिमसार क्षेत्रलाई ब्यवस्थित गर्न सकेको खण्डमा कृषकहरुसमेत लाभान्वित हुने स्थानीयबासीको भनाई छ ।
लामपाते सिमसार


उर्लाबारी नगरपालिका वडा २ मा रहेको लामपाते सिमसारले पनि पर्यटकीय क्षेत्र बन्न सक्ने प्रचुर सम्भावना बोकेको छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट तीन किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुँदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ । सालबारी सामुदायिक वनको हाताभित्र रहेको उक्त सिमसार क्षेत्रमा कृत्रिम पोखरी र केही टहरा निर्माण गरिएको छ । तर, सरोकारवाला निकायको ध्यान नपुग्दा उचित विकास हुन सकेको छैन । करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बोटिङ तथा पर्यटकीय स्थलका रुपमा परिचित गराउन सकिने धेरै आधारहरु रहेका छन् । यस सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावर, विभिन्न प्रकारका वनस्पतिहरु पाइन्छन् । यसका साथै उर्लाबारीका अन्य स्थान समेत कृत्रिम पोखरी निर्माण गर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ ।
बुढा ठाकुर सिमसार क्षेत्र


उर्लाबारी–२ कै अर्को महत्वपूर्ण स्थल हो– बुढा ठाकुर सिमसार क्षेत्र । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल जातिको ऐतिहासिक क्षेत्रको रुपमा बुढा ठाकुरलाई मान्ने गरिएको छ । प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल जातिको भव्य पूजासहित सिरिजात (जात्री) मेला लाग्ने गर्छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्बासी बस्ती छेउमा यो सिमसार रहेको छ । सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको बुढा ठाकुर सिमसारको विकास गर्न सकेको खण्डमा उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्ने देखिन्छ । दुम्सी, वन कुखुरा, बँदेल, हात्ती लगायतका जंगली जनावरहरु यहाँ पाइन्छन् । बुढा ठाकुर सिमसार क्षेत्रको विकास र प्रवद्र्धनमा सम्बन्धित निकायको उचित ध्यान नपुगेको देखिन्छ ।
बेतिनि सिमसार


पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जङ्गलभित्र छ, बेतिनी सिमसार । बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको उक्त सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ । यो सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ । वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानीलगायतको उचित ब्यवस्थापन गरिएको समूहका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । यहाँ दैनिक पाँच सयको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको राईले बताउनुभयो । बाल उद्यान, कृत्रिम पाटे बाघ, बोटिङ, कृत्रिम पोखरी यहाँका आकर्षण हुन् । सिमसारमा जलयात्राको मज्जा लिन पुग्नेको संख्या दैनिक बढ्दो छ ।
५८ हेक्टर क्षेत्रफलमा फैलिएको यस सिमसारमा बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको समूहका सदस्य मिलन दाहालले जानकारी दिनुभयो । सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिव्यक्ति १० तोकिएको छ । यहाँ सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडीफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छन् । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाइन्छन् ।
मदन भण्डारी सङ्ग्राहलय


बहुदलीय जनवादका ब्याख्याता मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । सोही घटनामा जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिन पछि भेटिएको थियो ।
मदनकी पत्नी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति रहेकी छिन् । तर, अहिलेसम्म पनि मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युका बारेमा आम जनसमुदाय जनचासो उत्तिकै देखिन्छ । भण्डारीको मृत्युपछि २०५० सालमा नै मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापना भएको थियो । सोही प्रतिष्ठानले भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा मदन भण्डारी सङ्ग्राहलय निर्माण गरिएको छ । मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका केही गतिबिधिलाई सङ्ग्राहलयमा समेटिएको छ । सङ्ग्राहलयको २०७४ सालमा राष्ट्रपति तथा मदनकी पत्नी विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । पुरातत्व विभागको आर्थिक सहयोगमा करिब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले सङ्ग्राहलय निर्माण गरेको हो । सङ्ग्राहलय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीन तले छ भने जसमा १६ कक्ष रहेको छ ।
संग्रहालय प्रवेशद्वारमा भण्डारी र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँको तस्बिर र दुर्घटनामा परेको बा.अ.च. ८७९३ नम्बरको जीप राखिएको छ । सङ्ग्राहलय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शनी छ । त्यसमा नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको लगायतका गतिबिधीहरू देखाइएको छ । वि.सं २०१७ को फौजी काण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह र त्यसपछि उत्पन्न भएको क्रान्तिलाई नेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ । यस्तै, संग्रहालयमा पार्टी एकीकरण कक्षका दुईवटा सिसाका सोकेस छन् जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा तत्कालिन नेकपा (माले) गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत राखिएको छ । सङ्ग्राहलयमा जनवर्गीय संगठनको पुनर्गठन तथा निर्माण एवं विभिन्न आन्दोलनको परिचालनदेखि लिएर पञ्चायतमा भएको हस्तक्षेप तथा यसका उपलब्धिसँग सम्बन्धित सामग्रीलाई राखिएको छ । सङ्ग्राहलयमा सिरहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो । दोस्रो तलामा सोकेसभित्र नेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुङ्गी,ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडाबर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ । सङ्ग्राहलयमा मोरङको इटहरास्थित घरको प्रकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकल राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौंको नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ । सङ्ग्राहलयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री पनि राखिएका छन् ।

सङ्ग्राहलयमा दास ढुङ्गा दुर्घटना पूर्व पोखराको सभागृह, दास ढुङ्गा गाडी गुड्ने सडक तथा गाडीको चित्राङ्कन , सडकदेखि त्रिशूली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँ, त्रिशूलीको भेलमाथि हेलिकप्टरसहितको टोलीले नेता भण्डारीको खोजी, दुर्घटनाग्रस्त गाडी त्रिशूलीबाट क्रेनको सहाराले निकाल्दै गरेको दृश्य, नेता जीवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशूलीको बगरमा नेता भण्डारीको शव, त्यसताका रेडियो नेपाल र नेपाल टेलिभिजनको घटनाबारेको समाचारको अंश, दशरथ रङ्गशीला श्रद्धाञ्जली सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्वीर राखिएको छ । यस्तै, सङ्ग्राहलयको सो कक्षमा मधुर आवाजमा शोक धून पनि सुन्न सकिनेछ । सङ्ग्राहलयमा नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई पनि राखिएको छ । यहाँ सबै दुर्घटना छानबीन आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्वीरसहितका प्रतिवेदन रहेका छन् । सङ्ग्राहलयको तेस्रो तलामा सुविधासम्पन्न सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट नेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जबज) को पाठशाला राखिएको छ ।
सभाकक्ष नजिकै अर्को कक्षमा पुस्तकालय रहेको छ । उक्त पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन सामग्री प्राप्त गर्न सक्नेछन् । सङ्ग्राहलयको अवलोकन गरेपछि भुईं तल्ला ओर्लिएपछि दास ढुङ्गा दुर्घटना हुँदा नेता भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख आश्रित चढेको दुर्घटनाग्रस्त जीप राखिएको छ । सङ्ग्राहलयमा स्वर्गीय नेता भण्डारीको जन्मदेखी मृत्युसम्मका सामग्रीहरु संकलन गरेर राखिएकोले खोज अनुसन्धान गर्नेहरुका लागि यो सङ्ग्राहलय महत्वपूर्ण हुनसक्छ ।
धिमाल जातिय विकास केन्द्र


उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्र पनि सम्भावना बोकेको पर्यटकीय स्थल हो । तर, यहाँको उचित विकासमा ध्यान पुगेको छैन । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल अध्ययन बनाउन सकेको खण्डमा देशविदेशबाट पर्यटकहरु आउन सक्ने देखिन्छ । केन्द्रको १० विघा जग्गा रहेको छ । २०५१ सालमा नेपाल सरकारले धिमाल जातीय पहिचान, संस्कृतिको जर्गेडा र विकासका निम्ति सो क्षेत्र धिमाल जातीय विकास केन्द्रलाई उपलब्ध गराइएको थियो । तर, धिमाल जातीको हितमा खासै काम भएको देखिन्न । यहाँ जीवित संग्रहालयको रुपमा धिमाल जातिको संस्कृतिको झल्को दिने र आगन्तुक, अध्येताहरुलाई बस्न र संस्कृतिको बारेमा जान्न चाहनेलाई होमस्टेको ब्यवस्थापन गर्न आवश्यक छ ।
सिद्देश्वर बाबाधाम

उर्लाबारी वडा नं. ६ मा रहेको सिद्देश्वर बाबाधाम धार्मिक पर्यटकीय स्थल बनाउने जमर्को भइरहेको छ । २०७३ सालमा स्थापना भएको यो धाममा पूर्वपश्चिम राजमार्गको उर्लाबारी वडा नं. ६ बाट करिब १ किलोमिटर उत्तरमा पर्दछ । यहाँ संस्कृतसमेत पढाई हुने गरेको छ । बर्षेनी महायज्ञ सञ्चालन गर्नुको साथै हिन्दुहरुको मुख्य चाडमा विशेष कार्यक्रम हुने गरेको छ । मावा खोला नजिकै रहेको यो धामलाई धार्मिक पर्यटकीय स्थल बनाउने गुरु योजनासमेत तयार पारिएको छ ।
महारुद्र शिवालय मन्दिर
उर्लाबारी–मधुमल्ला सडकमा पर्ने यो मन्दिर पनि धार्मिक पर्यटकीय स्थलकै रुपमा लिने गरिएको छ । उर्लाबारी चौकबाट करिब दुई किलोमिटर उत्तरमा रहेको यो मन्दिरमा सामुदायिक भवनसमेत रहेको छ । यस मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउने कार्य अघि बढेको छ । यहाँ मन्दिरमा बर्षेनी पुराणका साथै धार्मिक गतिबिधि सञ्चालन हुँदै आएको छ ।
आत्मनन्द मिङ्सो माङहिम


उर्लाबारी–६ को आत्मनन्द मिङ्सो माङहिम पनि धार्मिक पर्यटकीय क्षेत्रका रुपमा लिन सकिन्छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको माङहिमको आकर्षक बनोटमा जो कोहीको नजर पर्ने गरेको छ । यो पूर्वपश्चिम राजमार्गको उर्लाबारी–६ को बस स्टेण्ड उत्तर नजिकै रहेको छ । किरात धर्मावलम्बीहरु यहाँ पुजापाठका लागि आउने गर्दछन् भने अन्य धर्मावलम्बीहरुसमेत यहाँ अवलोकनका लागि आउँछन् । माङहिमको भवन निकै आकर्षक रहेको छ । जसले गर्दा यहाँ आउने आगन्तुकहरुको ध्यान खिच्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय