उर्लाबारी÷मोरङको उर्लाबारी नगरपालिकाका ९ वटै वडामा योजना छनोट भइरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै योजना छनोट भइरहेको हो ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि उर्लाबारी नगरपालिकाले वडाका लागि सिलिङ तोकेर वडा स्तरीय योजना तथा कार्यक्रम सञ्चालन गर्न असार ७ गतेसम्म योजना तर्जुमा गरी नगर कार्यपालिकामा पेश गर्न भनिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि वडा नं. १ लाई ९५ लाख, वडा नं. २ र ९ लाई ९३÷९३ लाख, वडा नं. ३, ४ र ६ लाई ९२÷९२ लाख, वडा नं. ५ लाई ९१ लख, वडा नं. ७ लाई ९४ लाख र वडा नं. ८ लाई ९७ लाख सिलिङ तोकेको हो ।
नगरपालिकाले तोकेको वडा विकास कार्यक्रमको सिलिङमध्ये पूर्वाधार विकासमा ६८ प्रतिशत, सामाजिक विकासमा १५ प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७ प्रतिशत रहने जनाइएको छ । कोरोना महामारीका कारण योजना तर्जुमाका लागि गाउँ टोल भेला आयोजन ागर्न स्वास्थ्य सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने देखिएमा स–साना समूहमा छलफल गर्ने, सामुदायिक संस्थाहरुलाई परिचालन गर्ने, सञ्चार तथा सूचना प्रविधिको उपयोग जस्ता विधि प्रयोग गर्न नगरपालिकाले वडालाई निर्देशन दिएको छ । उर्लाबारी नगरपालिकाको नगरसभा असार १० गते बस्दै छ ।























