उर्लाबारी । नेपाली कांग्रेस भित्र महाधिवेशनको मिति नजिकिंदै जाँदा पार्टी नेतृत्वका लागि आकांक्षीहरु पनि बढ्न थालेका छन् । केन्द्रमा चुनाबी सरगर्मी बढेसँगै वडा, गाउँ, नगर, क्षेत्र र जिल्लामा पनि चुनाबी माहोल तातेको छ । उर्लाबारी कांग्रेसको नेतृत्वमा लागि आधा दर्जन आकांक्षी देखिएका छन् ।
वर्तमान नगरसभापति बीरबल थापा पनि पुनः नेतृत्वमा आउन चाहिरहेका छन् भने उर्लाबारी वडा नं. ५ का सभापति सुरेन्द्र लिम्बूले पनि यस पटक नगरसभापति पदमा दाबी गरिरहेका छन् । दिपेन्द्र धिमाल, सचिन शाक्य, मुक्ति न्यौपानेलगायतले नगरसभापतिमा दाबी गरेका छन् । बर्तमान सभापति थापाको क्षेत्रीय सचिबमा पनि चर्चा छ । लामो समयदेखि कांग्रेस उर्लाबारीको नेतृत्व सम्हालिरहेका थापाको कांग्रेसमा राम्रै पकड मानिन्छ । युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने माग उर्लाबारीमा चर्को रुपमा उठेको छ । उर्लाबारीका अधिकांश युवाहरुको यस पटक सुरेन्द्र लिम्बूलाई नगरसभापति बनाउने पर्ने माग छ । युवा ब्यवसायी लिम्बू यस पटकको सबैभन्दा मजबुत उम्मेद्वार मानिएको छ । सामाजिक गतिबिधिमा सक्रिय लिम्बू युवामाझ लोकप्रिय देखिएका छन् । अर्का दाबेदार मानिएका दिपेन्द्र धिमाल र सचिन शाक्य पनि परिचित नाम हुन् । धिमाल जिल्ला फुटबल संघको नेतृत्व सम्हालिरहेका छन् भने शाक्य उर्लाबारी वडा नं. ६ का जनप्रतिनिधि तथा युवा ब्यवसायी हुन् । शाक्य सामाजिक सेवामा पनि निकै सक्रिय छन् । अर्का दाबेदार मानिएका मुक्ति न्यौपालेले कार्यकर्ता भेटघाट तीब्र पारेका छन् । सामाजिक गतिबिधिका गर्दै आएका न्यौपानेले चुनाबी गतिबिधिसमेत अघि बढाएका छन् ।























