काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।
पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँताएयता खनाल र नेपाल तथा गौतम समूह कुनै पनि बैठकमा सहभागी भएको छैन ।
पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारी
त्यसयता ओली समूहको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । उता खनाल नेपाल समूह पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोहीअनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रस्ट पारेका छन् । पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साबिकको एमाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
‘अब नेकपा (एमाले)मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ रिजालले ट्वीटरमा लेखेका छन् ।
१०औं महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारीमा पार्टी अध्यक्ष ओली रहेको एमाले स्रोतले जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा यस विषयमा गम्भीर रूपमा छलफल भएको छ । बैठकले १५ असारमा स्थायी कमिटी बैठक र १६ असारमा महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकता कायम राख्ने देशभरका नेताकार्यकर्ताको चाहना सम्बोधन हुनेगरी निर्णय हुने बताए । ‘यसबारे निर्णय लिन १५ गते स्थायी कमिटी बैठक र १६ गते आयोजक कमिटीको बैठक बोलाइएको छ । देशभरका नेता कार्यकर्ताहरूको पार्टीलाई एकताबद्ध राख्ने चाहना सम्बोधन हुनेगरी हामी निर्णय गर्दै छौं, अब पार्टीलाई एकताबद्ध बनाउँछौं,’ नेम्वाङले भने ।
कर्णाली प्रदेशका एमाले सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयले वैधता नपाउने आदेश दिएको थियो ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले १६ गते १०औं महाधिवेशन आयोजक कमिटी बस्ने निर्णय भएको बताए । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णय गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताए । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।























