उर्लाबारी । नेपाली कांग्रेसको आसन्त भदौ १७ गतेदेखि हुने १४ औं महाधिवेशनको चहलपहल गाउँगाउँसम्म पुगेको छ ।
नेपालको सबैभन्दा पुरानो र स्थापित लोकतान्त्रिक पार्टीको रुपमा रहेको रहेको कांग्रेसको महाधिवेशनको चर्चा भइरहँदा उर्लाबारी नगर सभापतिका लागि दौडमा थुप्रै नेताहरु लागेका छन् । अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० गते संसदीय निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा २३ गते चुनाव हुनेछ । यसैगरी, जिल्लाको निर्वाचन साउन २६ गतेको लागि तय गरिएको छ । यसैक्रममा उर्लाबारी नगरसभापतिको दौडमा वर्तमान सभापति बीरबल थापा, युवा नेता सुरेन्द्र लिम्बू, दिपेन्द्र धिमाल, मुक्ति न्यौपाने, सचिन शाक्यलगायत हुनुहुन्छ । यसमा कसले बाजी मार्ने हो भन्ने बिषय निकै चासोका साथ हेरिएको छ । नगरसभापतिमात्र होइन सचिबलगायत पदमा पनि आकांक्षीको होडबाजी छ । नगरसचिबमा धुब्रचन्द्र पराजुलीले समेत दाबी गर्नुभएको छ । कांग्रेसलाई सशक्त रुपमा अघि बढाउन र थप लोकप्रिय बनाउन आफुले नगर सचिबमा दाबेदारी प्रस्तुत गरेको उहाँको भनाई छ । सामाजिक सेवालगायतका कार्यमा समेत सक्रिय पराजुली यस पटकको नेतृत्व युवाको काँधमा आउनेमा विश्वस्त हुनुहुन्छ । पार्टीमा अहिलेसम्म गरेको कार्यलाई मूल्यांकन गरी पार्टीका नेता तथा कार्यकर्ताहरुको साथ र सहयोगमा नगर सचिब बन्ने उहाँको अपेक्षा छ । मिलनसार स्वभावका पराजुलीले कृषि, सहकारीलगायत क्षेत्रमा लामो समय काम गरिसक्नु भएको छ । कांग्रेसलाई चलयमान र आगामी निर्वाचनमा थप सशक्त बनाउन उहाँले नगरसचिबमा दाबी गरेको बताउनुभएको छ ।























