उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद तथा माओवादी नेता कूलप्रसाद साम्बा लिम्बू (कुशल)ले मन्त्री र राज्यमन्त्रीले पर्यटन क्षेत्रको बजेट दुई तीन जिल्लामा केन्द्रीत गरेको तथा सानाभन्दा साना योजनामा बजेट राखेर पर्यटन विकासको प्रवल सम्भावना भएका क्षेत्रलाई बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।
प्रदेश सभा बैठकमा बोल्दै उहाँले मन्त्रीको क्षेत्रमा ७÷८ करोड बजेट डिपिआरका लागि राखेर खाने प्रयास गरेको भन्दै चर्को आलोचना गर्नुभयो । ‘७ करोड ८ करोडको डिपिआर भनेको के हो ? के गर्नेलाई डिपिआर गर्ने,’ उनले भने, ‘मन्त्रीले खर्च जुटाउने मेलो मात्रै गरेको हो कि ? होइन भने आफ्नो मात्रै क्षेत्रमा के को डिपिआर ।’
उहाँले चालु वर्षमा विनियोजन भएको तर कार्यान्वयन नगरिएका योजनाहरु कटौती गरेर आफ्नो क्षेत्रमा विनियोजन गरिएको ५५ लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्नुभयो । ‘मेरो क्षेत्रमा राखेको ५५ लाख रुपैयाँ पनि मन्त्री वा राज्यमन्त्रीकै क्षेत्रमा लगेर डिपिआर गर्नुहोस्,’ उहाँले भने, ‘५५ लाखको डिपिआर गर्दा २०÷२५ लाख त मन्त्रीलाई फाइदै हुँदो हो ।’























