काठमाडौँ । सरकारले साउन ३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले साउन ३ गते दुवै सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन् ।
सर्वोच्च अदालतले साउन ३ गतेभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो ।
त्यस्तै, बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ । दुवै आयोगका पदाधिकारीहरुको म्याद पनि एक वर्ष थप्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जनाए ।























