उर्लाबारी, हिरालाल धिमाल ४९ । ६ वर्षअघि एकाएक वेपत्ता बनेका थिए । उर्लाबारी–८ जरुवापानीका हिरालाल गाउँमै जनमन गरेर निर्वाह चलाउथे । उनी वेपत्ता भएसंगै पीरैपीरमा रहेका हिरालालका बाबु बिते । परिवारका सहारा रहेका उनी किन बेपता बने भन्नेमा आफन्तजन चिन्तित बने । कमजोर आर्थिक अवस्थाका कारण उनको खोजी कार्य गर्न परिवारलाई हम्मे पर्यो । दिनहरु बित्दै गए । यस्तैमा एकदिन फेसबुक चलाइरहँदा उर्लाबारीका सामाजिक अगुवा नारायण बस्नेतको आँखा एउटा भिडियोमा गएर टक्क रोकियो । उनले मिहिन ढंगले दृश्यलाई नियाले । बस्नेतलाई कतै देखेको अनुहारजस्तो लाग्यो । नाङ्गो जिउ, अत्यासलाग्दो अनुहारका धिमालले ‘जब घर कहाँ हो ?’ भनेर सोध्नेलाइ घरि जरुवापानी त घरि गंगटे भनेर बताइरहेका थिए । बस्नेत निश्चिन्तन् भए । अनि उनलाई उद्दार गर्न अग्रसरता लिए । जबकी हिरालाल धिमाल भारतको हरियाणामा फेला परेको भिडियो सामाजिक संजालमा ‘भाइरल’ भइरहेको थियो । तर, उनको उद्दार त के सामान्य चासो लिने काम न त उर्लाबारीको स्थानीय सरकारले देखायो न धिमाल जातीय संघ, संगठनले नै । नारायण बस्नेत, तिनै व्यक्ति हुन् जो त्रिकाल फाउण्डेशनका अध्यक्ष समेत रहेका छन् । उनले कोरोना कहरको यो बेला अनेक उल्झन ब्यहोरेर हिरालाल धिमाललाई स्वदेश फर्काउन लिएको पहलकदमीको यतिबेला सर्वत्र प्रशंसा भइरहेको छ । बस्नेतले भने–‘ समाजमा मानवता हराउदै गएको छ, कोरोनालाई कारण देखाउदै जिम्मेवार व्यक्तिहरु पन्छिएपछि, म पछि हट्न सकिन ।’ एउटा गरिब व्यक्ति विरानो ठाउँमा लावारिस बनेको देख्दा भक्कानो छुट्यो, अनि उद्दार गरे ।
६ वर्ष परिवारसंग सम्पर्कविहिन भएका धिमाललाई हरियाणाको हिसार रोडमा दुइ साताअघि फेला परेका हुन् । टिठ लाग्दो अवस्थामा स्थानीयले देखेपछि उनको सोधखोज गरे सामाजिक संजालमा भिडियो राखेका थिए । जुन दृश्य हेरेर उर्लाबारी–८ का बस्नेतले हिरालालको उद्दार गर्ने हिम्मत जुटाए । मानसिक रुपमा समेत विक्षिप्त रहेका हिरालालको विराटनगरस्थित अस्पतालमा उपचार गरिएको छ ।























