काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन तयार भएका छन् । प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गरेका रावल आफ्नो निर्णयबाट पछि हट्ने भएका हुन् ।
उनले सांसद पदबाट गरेको राजीनामा घोषणा भोलि फिर्ता लिने माधव नेपाल निकट स्रोतले जानकारी दिएको छ । रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।
एमाले विवाद समाधानका लागि नेपाल समूहबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजक समेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उनले पछिल्लो समयममा प्रतिनिधिसभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म उच्च राजनीतिक नेतृत्व तहमा जनताको हितभन्दा निजी स्वार्थ देखिएको आरोपसमेत लगाएका थिए ।
साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा ओली समूहका केही सांसदसहित माधव नेपाल लगायत २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । तर अध्यक्ष केपी ओली समूहका अधिकांश संसदले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरेर विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद रावलले सभामुख अग्नि सापकोटा समक्ष आफ्नो राजीनामा बुझाएका थिए । साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए ।
यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको छैन । स्रोतका अनुसार एमाले एक बनाउन ओली समूहसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता माधव नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएका हुन् ।
रावललाई राजीनामा फिर्ता गर्न हिजो नेपाल उनको निजी निवासमा पुगेर छलफल गरेका थिए । नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि रावल राजीनामाबाट पछि हटेको स्रोतको दाबी छ ।
रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले दबाब दिएका छन् । राजीनामा घोषणा गर्ने दिन पनि अर्का नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न प्रयास समेत गरेतापनि रावलले संसद भवन परिसरमै राजीनामा पत्र बाचन गरेका थिए ।























