काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
उनले आज शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने निर्णयमा पुगेका हुन् । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए ।
स्रोतका अनुसार बिहीबार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीको आग्रह लगत्तै रावल वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।























