उर्लाबारी । मोरङको उर्लाबारीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३३÷११ के.भी. सबस्टेसन सञ्चालन गर्न निर्माणाधिन पाडाजुगी–उर्लाबारी ३३ के.भी.प्रसारण लाईनको काममा स्थानीयले पुनः अवरोध गरेका छन् ।
पाडाजुगी–उर्लाबारी १६ किलोमीटर लामो उक्त प्रसारण लाईन अन्तर्गत उर्लाबारी नगरपालिका वडा–८ अठियाबारीमा करिव तीन सय मिटरमा स्थानीयले काममा अवरोध गरेका कारण उर्लाबारी सबस्टेसन सञ्चालन हुन समस्या सिर्जना भएको प्राधिकरणले जनाएको छ । उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका र पथरी शनिश्चरे नगरपालिका लगायतका क्षेत्रका बासिन्दाले सामना गरिरहेको विद्युत अनियमितताको समस्या समाधान गर्ने उद्देश्यले उक्त प्रशारण लाईन निर्माण गर्न लागिएको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा बितरण प्रणाली सुददृढीकरण तथा बिस्तार आयोजनाद्वारा निर्माण गरिएको उर्लाबारी सबस्टेसन सञ्चालन भएपछि उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाका करिव तीन लाख उपभोक्ताले गुणस्तरिय र भरपर्दो बिजुली उपभोग गर्न पाउने छन् ।
हाल उक्त स्थानमा झापाको दमकबाट दुई वटा ११ के. भी. फिडर लाईनको माध्यमबाट बिजुली वितरण गरिएको छ । जुन दुई सय किलोमिटर लामो छ । लाईनको लम्बाई अत्यधिक भएका कारण सामान्य अवस्थामा समेत लामो समयसम्म विद्युत वितरणमा समस्या आउने गरेको छ । यो क्षेत्रमा ओभरलोड र ट्रिपिङ्ग को समस्या पनि अत्यधिक रहेको छ । ओभरलोल र ट्रिपिङ्गको समस्या उर्लाबारीको सबस्टेसन सञ्चालनमा आएपछि मात्र समाधान हुने प्राधिकरणले जनाएको छ ।
उर्लाबारी सबस्टेसन तुरुन्त सञ्चालन गरि त्यहिबाट विद्युत वितरण कार्य सुचारु गर्ने सम्बन्धमा उर्लाबारी नगर प्रमुख, उप प्रमुख, नेपाल विद्युत प्राधिकरणका आयोजना प्रमुख, वितरण केन्द्र प्रमुख, वडा अध्यक्ष, र स्थानिय सरोकार वाला ब्यक्तिसहितको रोहवरमा लाईनको काममा बाधा गर्ने स्थानियहरुसँग बिभिन्न चरणमा भएका वार्ता र छलफलबाट सहमति गरी रोकिएको काम लाई पुन निरन्तरता दिने केही दिन अघि सहमति भएको थियो । तर, अन्य केही व्यक्तिहरुबाट पुनः प्रशारण लाईनको काममा अबरोध भएको छ ।
उक्त प्रसारण लाईन बनेर सब स्टेशन सञ्चालनमा आएको अबस्थामा उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका र पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा हाल विद्यमान विद्युत लाईनको अनियमितता, न्युन भोल्टेजको समस्या बाट मुक्ति पाउने भएकाले तत्काल समस्या समाधान गर्न स्थानिय सरकार, प्रदेश सरकार लगायतका सरोकारवाला जुट्न आबश्यक छ । प्रशारण लाईन बनेर सब स्टेशन सञ्चालनमा आएको अबस्थामा सो क्षेत्रमा घरेलु तथा साना उद्योगको विकासमा ठुलो योगदान पुग्नुका साथै रोजगारी समेत सिर्जना हुनेछ । तर प्रशारण लाइनमा भइरहेको अवरोधले यस क्षेत्रका बासिन्दाले विद्युत लाईनमा अनियमितता र समस्या कहिलेसम्म भोग्नुपर्ने हो भन्ने अनिश्चितता थपिएको छ ।























