विराटनगर । मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका छन् ।
विराटनगर ५ मा आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर भीम पराजुलीलाई लखेटेका हुन् ।
मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति बिमल राज भण्डारीको घरमा पुगेर खोप लगाउन थालेका थिए । खोपको लागि काङ्ग्रेसको पनि निकट कार्यकर्तालाई मात्र खबर गरिएको थियो ।
गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठुलो भिड जम्मा भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे भने पराजुलीलाई लखेटेका थिए ।
स्थानीयको विरोधपछि मेयर पराजुली दौडदै प्रविण जेसीको गाडी चढेर भागेको स्थानीयले बताएका छन् । भन्सार एजेन्ट जोसीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । स्थानीयले विरोध गर्दासम्म करिब १५ देखि २० जनाले खोप लगाईसकेको स्थानीय प्रविण निरौलाले बताए ।
मेयर पराजुलीको उक्त हर्कतपछि हाल भने स्थानीयले विरोध गरिरहेका छन् । सरकारले तोकिएका फ्रन्टलाइनर र ५५ वर्ष भन्दा माथिको उमेर समुहलाई खोप लगाइरहेको छ । खोप केन्द्रमा खोप लगाउन ६ घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ ।
साभारः हाम्रो मत ।























