लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वली सम्पर्कविहीन भएकी छन्।

माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य विमला शुक्रबारदेखि आफ्नो सम्पर्कमा नरहेको उनको पार्टीले जनाएको हो।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रदेश सांसद वली ‘बेपत्ता’ भएकी हुन्।

उनलाई मुख्यमन्त्री पोखरेलको पार्टी एमालेले प्रलोभनमा पारेको हुनसक्ने आशंका माओवादी केन्द्रका नेताले गरेका छन्।

यसअघि पनि लुम्बिनीकै सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भई पछि भेटिएकी थिइन्। जनता समाजवादी पार्टीकी नेता उनलाई एमालेले नै लोभ देखाएर लुकाएको आरोप लगाइएको थियो।

एमालेबाट लुम्बिनीका मुख्यमन्त्री पोखरेल अहिले अल्पमतमा परेका छन्। जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनासाथ महन्थ ठाकुर पक्षबाट त्यहाँ सांसद रहेका ३ जनाको पद गुमेपछि पोखरेलको समर्थनमा ३८ सांसद मात्र बाँकी रहेका हुन्। उता विपक्षी गठबन्धनका पक्षमा भने प्रदेश सभाका ४१ सदस्य छन्।

यसैले मुख्यमन्त्री पोखरेलले विभिन्न दलका सांसदलाई पद र पैसाको प्रलोभन देखाएर भए पनि सत्ता टिकाउने प्रयास गरिरहेको विपक्षीको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय