काठमाडौँ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि आज (बुधबार) निर्वाचन आयोग जाँदैछन् । आयोगले दल दर्ताका लागि निवेदन दिएका दुबै पार्टीलाई आज सनाखतका लागि बोलाएको छ ।
आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्म नेताहरु आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ । आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।























