उर्लाबारी । यही भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको उम्मेद्वार बन्नु भएको छ, हेमराज गुरुङ । संघको गत निर्वाचनमा महासचिवमै प्रतिस्पर्धा गर्नुभएका गुरुङ पराजित हुनु भएको थियो । डेढ दशकदेखि व्यापार व्यवसायमा संलग्न गुरुङ उर्लाबारीका स्थापित व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । तमु सुनचाँदी पसल दुर्गापुरीका सञ्चालक हेमराजको हसिलो, मिजासिलो व्यवहारले सबै प्रभावित हुन्छन् ।
‘पहिले व्यापारीको मन जितेँ, यस पटक मत जित्छु’ उहाँले भन्नुभयो । नेपाली काँग्रेस निकट व्यवसायीको तर्फबाट हेमराज महासचिवको उम्मेद्वार बन्नु भएको छ । गठबन्धनबाटै महासचिवको उम्मेद्वार भएपनि उहाँ दलीय राजनीतिसँग उति साह्रो नजिक हुनुहुन्न । उहाँ भन्नुहुन्छ, ‘आस्था रहेको हुन्छ । ब्यापारीको हक, अधिकार र ब्यावसायिक सुरक्षा मेरो बटमलाइन हो ।’ एक कार्यकाल संघको कार्यसमिति सदस्य रहेर कुशलतापूर्वक कार्यसम्पादन गरिसक्नु भएका गुरुङ संघमा केही गरौं भन्ने अठोट लिएर महासचिवको उम्मेद्वार बनेको बताउनुहुन्छ । ‘एक कार्यकाल कार्य समिति सदस्य बनेँ, कार्यकाल पनि सुखद रह्यो’ उहाँले भन्नुभयो, ‘जुन महत्वाकांक्षा बोकेर वाणिज्य संघ प्रवेश गरेको थिएँ, त्यो पूरा गर्न यस पटक महासचिव पदको उम्मेद्वार बनेको छु ।’
हेमराज व्यापारिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि अग्रणी रहनु भएको छ । २०७२ सालमा उहाँले सुरु गरेको राजघाट उज्यालो अभियानले सार्थकता पाएको छ । १८ घण्टासम्म लोडसेडिङको समयमा उर्लाबारीमै पहिलो पटक दुर्गापुरीमा उहाँले सुरु गरेको सडक बत्ती अभियानले अहिले पनि दुर्गापुरी बजार झिलिमिली छ । तीन किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गरिएको छ ।
हङकङ आइडी र बेलायतको ग्रिनकार्डको अवसर हुँदाहुँदै पनि आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्यका साथ स्वदेशमै व्यापार, व्यवसायसँगै समाजसेवामा उहाँ सक्रिय रहनु भएको छ । उर्लाबारीका विभिन्न संघसंस्था, मठमन्दिरलगायतमा आर्थिक सहयोग समेत उहाँले गर्नुभएको छ । उर्लाबारी जेसीज, लायन्स क्लब अफ उर्लाबारीलगायत विभिन्न संघसंस्थामा उहाँ आबद्ध रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय