काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आजदेखि वडाहरूको अधिवेशन गरेर शुरु हुँदैछ ।
कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत वडा अधिवेशन शुरु हुने भएको हो ।
वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरू जिल्ला–जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरू तल्लो तहसम्मै सक्रिय भएका हुन् ।
सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक(फरक हुने भएको छ ।
एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाडौंसहित दुई दर्जनभन्दा धेरै जिल्लामा अधिवेशन हुनेछैन । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन । भदौ २७ मा गाउँ, नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ ।























