उर्लाबारी । नेपाली कांग्रेसको पकड मानिएको उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेका शेरबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । कांग्रेसका तारामान सिरेङ लिम्बू पराजित हुनु भयो । मतगणना अनुसार प्रगतिशील साझा प्यालनबाट उम्मेद्वार बन्नु भएका भण्डारीले ७८९ मत ल्याएर विजयी हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी लोकतान्त्रिक प्यालनका लिम्बूले ६३० मत प्राप्त गर्नुभयो । कांग्रेसभित्र मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोनिकट मानिने लिम्बूको पराजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण लिम्बू पराजयको शिकार बनेको जनाइएको छ ।
मत परिणाम अनुसार १३ सदस्यीय कार्यसमितिमा प्रगतिशील साझा प्यानलबाट अध्यक्षसहित ७, लोकतान्त्रिक प्यालनबाट ५ र स्वतन्त्र १ जना निर्वाचित हुनुभयो । लेखा समितिमा दुई जना लोकतान्त्रिक र १ जना प्रगतिशील साझाका उम्मेद्वार विजयी हुनुभयो । संघको बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली १ मत अन्तरका साथ विजयी हुनुभयो । रसाइलीले ६७५ ल्याउँदा प्रतिस्पर्धी दिलबहादुर श्रेष्ठले ६७४ मत मात्र पाउनुभयो । रसाईली नेकपा माओवादी केन्द्र समर्थक ब्यवसायी हुनुहुन्छ भने श्रेष्ठ कांग्रेसनिकट ब्यवसायी हुनुहुन्छ । उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की ८३७ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी रामप्रसाद धिमालको पक्षमा ४७२ मत प्राप्त भयो । कार्की राप्रपा र धिमाल जसपानिकट ब्यवसायी हुनुहुन्छ ।
यस्तै, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान विजयी हुनुभयो । उहाँले ८०७ मत मत ल्याउँदा प्रतिस्पर्धी पवन चौधरीले ५४६ मत लगाउनुभयो । चौहान कांग्रेस र चौधरी नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ ।
संघको महासचिवमा हेमराज गुरुङ ६८३ मतका साथ विजयी हुँदा महासचिव पदकी उम्मेद्वार सम्झना खतिवडा आचार्यको पक्षमा ६७० मत प्राप्त भयो । गुरुङ कांग्रेस र आचार्य एमाले निकट हुनुहुन्छ ।
उद्योग सचिवमा डिल्लीराम खतिवडा निर्वाचित हुनुभयो । ७१५ मत ल्याउनु भएका खतिवडाका प्रतिस्पर्धी पूर्ण सिंगक लिम्बूले ६१६ मत प्राप्त गर्नुभयो । खतिवडा एमाले र लिम्बू कांग्रेसनिकट हुनुहुन्छ । यस्तै, वाणिज्य सचिवमा ७३८ मतका साथ भेषबन्दु निरौला विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी यज्ञबहादुर बस्नेतले ५८२ मत ल्याउनुभयो । निरौला कांग्रेस र बस्नेत नेकपा एकीकृत समाजवादीनिकट हुनुहुन्छ । कोषाध्यक्षमा राजन दाहाल विजयी हुनुभयो । उहाँले ७०९ र प्रतिस्पर्धी कृष्णराज गिरीले ६१२ मत प्राप्त गर्नुभयो । दाहाल माओवादी र गिरी कांग्रेस निकट हुनुहुन्छ ।
कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेद्वार गोपाल भण्डारी सर्वाधिक मतका साथ विजयी हुनुभयो । उहाँले ९१९ मत प्राप्त गर्नुभयो कार्यसमितिका अन्य सदस्यमा नित्तम चौहान ७३०, नुतन राई पिके ६३३, राजकुमार श्रेष्ठ ५९२ र दशरथ यादव बेचन ५३८ विजयी हुनुभयो । चौहान र राई एमाले तथा श्रेष्ठ र यादव कांग्रेसनिकट हुनुहुन्छ ।
यस्तै, लेखा समिति संयोजकमा लोकतान्त्रिक गठबन्धनका गणेश खत्री निर्वाचित हुनुभयो । उहाँले ६६१ मत ल्याउँदा प्रतिस्पर्धी गजिन्द्र भण्डारीले ६११ मत प्राप्त गर्नुभयो । लेखा समिति सदस्यमा राधिका काफ्ले ६८८ र रोशन घिमिरे ६४४ मतका साथ विजयी हुनुभयो । खत्री र घिमिरे कांग्रेसनिकट हुनुहुन्छ भने काफ्ले माओवादीनिकट हुनुहुन्छ । कार्यसमितिमा महासचिबसहित ५ पदमा कांग्रेसनिकट ब्यवसायी विजयी हुनुभयो भने अध्यक्षसहित ४ जना एमाले समर्थकको विजयी भयो । बरिष्ठ उपाध्यक्षसहित २ जना माओवादी केन्द्र निकटको विजयी भयो । त्यस्तै, उद्योग उपाध्यक्षमा राप्रपा र एक जना स्वत्रन्त्रले सदस्य पद जित्नुभयो । लेखासमितिमा कांग्रेसका दुई र एक जना माओवादी केन्द्रका हुनुहुन्छ ।























