उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा उर्लाबारीका ब्यवसायी गोपाल भण्डारीले स्वतन्त्र उठेर सर्वाधिक मत ल्याउन सफल हुनुभयो ।
कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन र एमालेसहितको प्रगतिशिल साझा गठबन्धनका उम्मेद्वारहरुलाई भारी मत अन्तरले पराजित गर्दै भण्डारी विजयी हुनुभयो । उहाँले ९ सय १९ मत ल्याए सानदार विजयीमात्र गराउनु भएन अब स्वतन्त्र उठेका ब्यवसायीले पनि जित्छन् भन्ने सन्देश दिनुभयो । यसले उत्साह पनि थपेको छ ।
के स्वतन्त्र ब्यवसायीको मतले जितेको हो त ?
स्वतन्त्र ब्यवसायीहरुको मतले मात्र उहाँले जितेको भने पक्कै होइन । कांग्रेस समर्थक ब्यवसायी धेरैले भण्डारीलाई एक छाप मत हाने । जसको कारण सदस्य पदमा नविन श्रेष्ठ र भीमप्रसाद घिमिरे पछारिनु प¥यो । सदस्यमा पराजित बनेका श्रेष्ठले भने कांग्रेसभित्रकै चलखेलले लोकतान्त्रिक प्यालन पराजित बन्न पुगेको सामाजिक सञ्जालमै आक्रोश पोख्नुभयो । एमाले समर्थक ब्यवसायीहरुले पनि भण्डारीलाई मतदान गरे । जसका कारण प्रगतिशिल गठबन्धनका सदस्य उम्मेद्वारहरु नराम्रोसँग पराजित हुन पुगे ।
अन्तरघात भएकै हो त ?
कांग्रेससहित लोकतान्त्रिक गठबन्धनबाट ५ जना विजयी हुँदा अध्यक्ष पदका उम्मेद्वार तारामान सिरेङ लिम्बूसहितले हार्न पुग्नुभयो । कांग्रेसभित्र मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोनिकट मानिने ब्यवसायीहरु पराजित बन्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । लोकतान्त्रिक गठबन्धनकै उम्मेद्वारहरुलाई पराजित गराउन कांग्रेसका केही नेताहरु लागि परेको जानकार स्रोत बताउँछन् । १ सय ५९ मत अन्तरले लिम्बू पराजित भएपछि कांग्रेसभित्रैबाट असहयोग भएको प्रष्ट देखिएको छ ।























