समथर तराईमात्र विस्तार भएको जिल्लाको रूपमा मोरङलाई धेरैले सम्झने र सोही अनुसार परिभाषित गरे त्यो महाभूल हुनसक्छ । भूल नगर्ने हो भने मोरङको पश्चिमोत्तर भेगमा पर्ने विभिन्न स्थानीय तहहरूमध्ये मिक्लाजुङ गाउँपालिकालाई आधा पहाड र आधा तराई भनेर बुझ्न जरुरी छ । हो, आधा पहाड र आधा तराई भएकैले त मिक्लाजुङमा करिब आधा घण्टाको यात्रा गर्दा फरक फरक मौसमको सहज अनुभव गर्न सकिन्छ ।

यिनै फरक मौसमकै कारण प्राकृतिक हिसाबमा पर्यटकीय दृष्टिले निक्कै राम्रो सम्भावना बोकेको गाउँपालिका बनेको छ मिक्लाजुङ । चुरेपहाडले भरिएको भू–भागमा अवस्थित मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजार हो । मधुमल्ला पूर्वको दमक बजारभन्दा पुरानो र नाम चलेको बजार पनि हो । कुनै समय दमकबाट हाट भर्न मधुमल्ला आउँथे मानिसहरू ।

तर, पूर्व–पश्चिम राजमार्ग विस्तार भएपछि दमकको विस्तार भयो । मधुमल्ला जस्ताको त्यस्तै रह्यो । राज्य पुनःसंरचनाको क्रममा साविक मधुमल्ला गाविसको १ देखि ६ वडा, साविक टाँडी र रमिते खोला गाविस र जाँते गाविसको ३ र ४ नं. वडा समेटेर हालको मिक्लाजुङ गाउँपालिका बनेको हो । पर्यटनको दृष्टिले मिक्लाजुङका यी ठाउँहरू निक्कै राम्रो अवसर र सम्भावना बोकेका रमणीय स्थलहरू हुन् ।

बेतेनी पोखरी
मिक्लाजुुङ गाउँपालिका–६ मा पर्ने बेतेनीपोखरी जैविक विविधताले भरिएको एउटा राम्रो पर्यटकीय सम्भावना बोकेको सिमसार हो । यहाँ विभिन्न प्रजातिका माछा र कछुवाहरू पाइन्छन् । प्राकृतिकरूपमा करिब ३ बिघाभन्दा बढी क्षेत्रफल ओगटेको बेतेनीपोखरी सिमसार मिक्लाजुङ सामुदायिक वनको हाताभित्र पर्छ ।

पोखरीलाई मिक्लुङ सामुदायिक वनले पर्यटन प्रवद्र्धनमा विकास गर्दै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले नगद १५ लाख र राष्ट्रपति चुरे संरक्षण कार्यालय विराटनगरले १५ लाख रकम दिएपछि हाल पोखरीको मुहार फेरिएको छ ।

पहिले संरक्षण नगरिएको अवस्थामा रहेको पोखरीको रूप फेरिएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरूसमेत आउने क्रम बढेको कवि साहित्यकारसमेत रहेका स्थानीय बासिन्दा गगन योक्पाङ्देनले बताए । उक्त पोखरीलाई आगामी दिनमा थप व्यवस्थित गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष बुद्धिलाल निरौलाले बताए ।

देवीथान सिमसार
मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बजारको पूर्व– उत्तरतर्फ पर्ने देवीथान सिमसार मिक्लाजुङ गाउँपालिकाको अर्को एउटा पर्यटकीय सम्भावना बोकेको पर्यटकीयस्थल हो ।

यो सिमसार मावा–नुनसरी सामुदायिक वनको हाताभित्र पर्छ । मावा–नुनसरी सामुदायिक वनले यस क्षेत्रमा देवीथान सिमसार पर्यापर्यटकीय क्षेत्रको रूपमा करिब १२ हेक्टर क्षेत्रफललाई छुट्याई पर्यटन प्रवद्र्धनको कार्य अघि बढाएको मावा–नुनसरी सामुदायिक वनका सचिव दीपेन थापाले बताए ।

उक्त स्थान ऐतिहासिक तथा धार्मिकस्थलको रूपमा समेत परिचित छ । रेसम खेती, साकेला थान, कविर मन्दिर र चर्च यसै आसपासमा रहेका छन् । गत आर्थिक वर्षमा प्रदेश सरकार पर्यटन मन्त्रालयको सहयोगमा बाल उद्यान सञ्चालनको तयारी अवस्थामा रहेको छ ।

बजारबाट नजिकै र प्राकृतिक तथा मनोरम वातावरणमा रहेको उक्त स्थान मनमोहक रहेको मिक्लाजुङ गाउँपालिका–७ का वडाध्यक्ष सुशीलराज चौहानले बताए । देवीथान सिमसारको दिगो व्यवस्थापनमा मावा–नुनसरी सामुदायिक वन, वडा कार्यालय, गाउँपालिका र प्रदेश सरकारसमेत सक्रिय भएर लागेको छ ।

कुइनेटार पर्यटकीय क्षेत्र
मिक्लाजुङ गाउँपालिका– २ र इलामको चुलाचुली गाउँपालिका–६ को सङ्गमस्थलको रूपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र हो कुइनेटार । पछिल्लो समय सो स्थानमा झोलुङ्गे पुलको निर्माण भएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।

दैनिकजसो उल्लेख्य मात्रामा आन्तरिक तथा वाह्य पर्यटकको आगमन हुने गरेको स्थानीय व्यवसायी बिकेन राईले बताए । हाल सो स्थानबाट अर्को धार्मिक तथा पर्यटकीय क्षेत्र चुलीपोखरीसम्म पुग्ने पदमार्ग निर्माण प्रक्रिया सुरु भएसँगै स्थानीयस्तरमा केही मात्रामा रोजगारीका अवसरहरू समेत सिर्जना भएको मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष गौरीप्रसाद राईले बताए ।

सो पदमार्ग निर्माणका लागि मिक्लाजुङ गाउँपालिकाले रकम विनियोजन गरेको छ । कुइनेटारबाट चुलीपोखरीसम्मको दूरी करिब ४ किमी रहेको छ । यस वर्षको बजेटबाट करिब चारसय मिटर र गतवर्षकोबजेटबाट करिब चारसय मिटर पदमार्गको सिँढी निर्माण भइसकेको कुइनेटार चुलीपोखरी पदमार्ग निर्माण समिति अध्यक्ष शेरबहादुर राईले बताए ।

मिक्लाजुङ गाउँपालिकाका दुईवटा धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने गरी निर्माण प्रक्रिया सुरु भएको यस पदमार्गले स्थानीयस्तरमा रोजगारी र धार्मिक पर्यटनमा समेत टेवा पु¥याउने प्रदेशसभा सदस्य कुलप्रसाद साँवा कुशलले बताए । साँवाले यो पदमार्ग मोरङ जिल्लाकै पहिलो पदमार्ग भएको बताए ।

चुलीपोखरी
चुरे पहाड (डब्लुहील) को थाप्लोमा रहेको चुलीपोखरी क्षेत्र मिक्लाजुङको अर्को महत्व पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र हो । चुरे पहाडको थाप्लोमा निकै मनमोहक र आकर्षक पोखरी रहेको छ ।

धार्मिक तथा पुराताŒिवक हिसाबले समेत यो पोखरी निक्कै महत्वपूर्ण रहेको छ । नेवार र राई सामुदायको बसोबास रहेको चुलीपोखरीको विकासमा मिक्लाजुङ गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगले पछिल्लो समय मुहार फेरिँदै गएको स्थानीय अर्पण श्रेष्ठले बताए ।

चुरेपहाडको डाँडैडाँडाबाट तराईका हरिया फाँटहरूको दृश्यावलोकन गर्दै आनन्दित हुनुको मजै बेग्लै हुने स्थानीय कवि तथा साहित्यकार रुद्र भण्डारी बताउँछन् । उक्त स्थलबाट झापा, मोरङ, इलाम पाँचथर गरी ४ जिल्लाका भू–भागको दृश्यावलोकन गर्न सकिन्छ ।

नेसेलुङ भ्यूटावर
मिक्लाजुङ गाउँपालिका–३ मा पर्ने नेसेलुङमा भ्यूटावर निर्माण भइरहेको छ । नेसेलुङ भ्यूटावरबाट तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ । लिम्बू भाषामा रहेको ‘नेसेलुङ’ को अर्थ ‘सुनको गहना’ अर्थात् ‘कानमा लगाउने च्याप्टे सुन’ जस्तै ढुङ्गा भन्ने हुन्छ । भ्यूटावर निर्माणमा वडा कार्यालय र प्रदेश सरकारले सहयोग रहेको वडाध्यक्ष खगेन्द्र मादेनले बताए । ७ तला निर्माण गर्ने योजना रहेको भ्यूटावरको ४ तला निर्माण सम्पन्न भएको छ ।

किरातेश्वर हाङ्साम माङ्हिम
नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपश्या गरेको स्थल हो किरातेश्वर हाङ्साम माङ्हिम । यो क्षेत्र मिक्लाजुङ गाउँपालिकाको मुख्य धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा परिचित छ ।

आइतबारे बजार
समुद्री सतहबाट करिब १५ सय मिटरको उचाइमा रहेको आइतबारे बजार मिक्लाजुङ गाउँपालिकाको अर्को एउटा पर्यटकीय गन्तव्य क्षेत्र हो । यहाँ बाह्रै महिना शीतल मौसम रहन्छ ।

आइतबारे बजार र धरान–धनकुटाको सीमामा पर्ने पर्यटकीयस्थल भेडेटारको वातावरण एकै प्रकारको रहेको मिक्लाजुङ गाउँपालिका–१ का वडाध्यक्ष नरबहादुर राईले बताए । यहाँको मुख्य विशेषता भनेको क्षणमै पानी पर्ने, क्षणमै घाम लाग्ने र क्षणमै हुस्सु लाग्ने हो ।

उक्त स्थलमा गर्मी छल्न पूर्वको दमक, उर्लाबारी, पथरी, बेलबारी र मधुमल्ला आसपासबाट उल्लेख्यरूपमा मानिसहरू आउने गरेको स्थानीय भवानी राईले बताए ।

बजारनजिकै ओखलढुङ्गा भन्ने स्थान छ । जहाँबाट प्याराग्लाइडिङको सफल परीक्षणसमेत भइसकेको छ । आइतबारेबाट मिक्लाजुङ डाँडासम्म केवलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजनालाई प्राथमिकतामा राखेर अगाडि बढाएको मोरङ क्षेत्र नं. १ का प्रदेशसभा सदस्य कुलप्रसाद साँवाले बताउँदै आएका छन् ।

आइतबारे बजारबाट केही दक्षिणतर्फ रहेको बतासे डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । इलामको श्रीअन्तुबाट जस्तै राम्रोसँग सूर्योदय हेर्न सकिने स्थानीय युवा समाजसेवी लेलिन राईले बताए ।

मिक्लाजुङ डाँडा
मिक्लाजुङको पहाडीक्षेत्र जहाँ सम्भावना नै सम्भावनाको खानी छ । इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सङ्गमस्थल हो मिक्लाजुङ डाँडा । तर, सदुपयोग हुन नसक्दा पर्यटनको सम्भावनाहरू त्यसै खेर गइरहेको छ । मिक्लाजुङ डाँडाकै नाममा गाउँपालिकाको नाम पनि रहेको हो । लिम्बू भाषामा सामान्यतया ‘मिक्लाजुङ’ को अर्थ ‘आँखाले धेरै टाढा पनि देख्न सकिने’ भन्ने हुन्छ ।

अर्थात् मिक्लाजुङ डाँडाबाट तराईका फाँट र पहाडका चुचुरासँगै सगरमाथा, कञ्चनजङ्घालगायतका १४ वटा हिमशृङ्खलाहरूका प्राकृतिक सौन्दर्यलाई नियालेर हेर्न सकिन्छ । सूर्योदयको लागि इलामको अन्तु जति महत्वपूर्ण छ, त्योभन्दा कम महत्वपूर्णको छैन मिक्लाजुङ डाँडा । चारवटा जिल्लाहरूको सङ्गमस्थल भएकाले पनि मिक्लाजुङको महत्व अवश्य बढेको छ तर, त्यहाँ पुग्नको लागि सुविधाजनक सडक र यातायात सञ्चालन नहुँदा मिक्लाजुङ ओझेलमा परेको छ ।

समुद्र सतहदेखि २ हजार ४ सय मिटर उचाइमा रहेको मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनलगायतका विविध समस्याका कारण मिक्लाजुङले जुन उचाइ प्राप्त गर्नुपर्ने थियो, त्यो प्राप्त गर्न सकेको छैन । मिक्लाजुङ र आसपासका रमणीय एवम्पर्यटकीयस्थलहरू पहिचान गरेर थप व्यस्थापन गर्नसके स्थानीय समुदायको आय आर्जनमा वृद्धिसँगै मिक्लाजुङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनको माध्यमबाट उल्लेख्य मात्रामा उचाइ हासिल गर्नेछ भन्ने कुरामा दुईमत छैन । पत्रकार सन्तोष गौतमले लेख्नु भएको समाचार ब्लाष्ट दैनिकबाट लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय