पुजन दास
उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकामा एक महिलाको रहस्यमय तरिकाले मृत अवस्थामा शव भेटिएको छ ।
आइतबार रतुवामाई नगरपालिका– ६ सिंघारी भन्ने स्थानको मकैबारीमा करिब ३० बर्षीया महिलाको शव भेटिएको हो । स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान भने खुल्न सकेको छैन । घटना रहस्यमय भएकाले तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोलीले अनुसन्धान गरेको छ । घटना स्थलमा झार मडारिएको, भोलाका खोल तथा ५० रुपैयाँको एनसेलको रिजार्च कार्ड, मोबाइल चार्जर, कागजमा लेखिएको अवस्थामा मोबाइल नम्बरलगायत फेला परेको थियो । कालो वर्णकी ती महिलाको घाँटीमा चोट देखिएको छ भने अनुहार चिथोरिएको, लुगा च्यातिएको अवस्थामा शब भेटिएको स्थानीयले बताएका छन् । अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।























