
मोरङको लेटाङमा छुरा प्र्रहारबाट शुक्रबार राति एक ट्याक्टर मजदुरको हत्या भएको छ ।
ट्याक्टरका मजदुरहरु लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या भएको प्रहरीले बताएको छ । काम गरेको पैसा मागेको र सो विषयमा विवाद हुदा लेटाङकै त्रिसूली चोकमा रोमनलाई छुरा हानेका हुन् ।
प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउँने काम गर्दै आएका थिए ।
पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा बाटैमा राति १०ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन् । उनीहरुलाई रोमनले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेका थिए । काममा लगाएको पैसा नदिएको विषयलाई लिएर बढेको विवाद हत्यामा परिणत भएको पाइएको प्रहरीको भनाइ छ । डीएसपी राईले घटनामा संलग्न दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने बताए ।
उज्यालो प्रदेशबाट साभार