उर्लाबारी / विश्व पोलियो दिवसको अवसरमा शुक्रबार मोरङको उर्लाबारीमा सचेतना मूलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
रोटरी क्लब अफ उर्लाबारीको आयोजना मा निकालिएको प्रभातफेरीमा स्काउट लगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
‘Keep Nepal Polio Free’ भन्ने मूल नारासहितको र्याली उर्लाबारी चोकदेखि बरगाछी, पशुपति मार्ग हुँदै पुनः उर्लाबारी चोकमा आएर सम्पन्न गरिएको हो।
कार्यक्रममा उर्लाबारी नगरपालिका–७ की वडा अध्यक्ष उर्मिला थापा प्रमुख अतिथि रहनु भएको थियो।
सो अवसरमा रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष सूर्यकुमार पौडेलले रोटरी एक विश्वव्यापी सेवा संस्था रहेको बताउँदै पोलियो उन्मूलनका लागि संस्थाले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो।
उहाँका अनुसार, रोटरी इन्टरनेशनलले विश्वभरका १ सय २२ देशका करिब ३ अर्ब बालबालिकालाई पोलियो रोगबाट जोगाउन २.१ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ।
“रोटरी पोलियो उन्मूलन अभियानको संस्थापक साझेदारका रूपमा विश्वभर पोलियोमुक्त समाज निर्माणमा निरन्तर योगदान गर्दै आएको छ,” पौडेलले भन्नुभयो।
प्रत्येक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसको उद्देश्य पोलियो रोगबारे जनचेतना अभिवृद्धि गर्नु र विश्व समुदायलाई पोलियोमुक्त समाज निर्माण अभियानमा सहभागी हुन प्रेरित गर्नु हो।
कार्यक्रममा वडा अध्यक्ष थापाले पोलियोमुक्त नेपाल कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय