उर्लाबारी । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा विहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उर्लाबारी नगरपालिका राेजगार सेवा केन्द्र , रेमी परियाेजना उर्लाबारीकाे अायाेजनामा भएकाे कार्यक्रम धिमाल जातीय विकास केन्द्र, मंगलबारेमा सम्पन्न भएको हो। सुरक्षित, मर्यादित तथा सीपयुक्त आप्रवासनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वैदेशिक रोजगारीका अवसर, चुनौती, जोखिम न्यूनीकरण तथा सुरक्षित आप्रवासनसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मीना कुमारी खतिवडा पौडेलले आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउँदै सुरक्षित आप्रवासनका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना, सीप र कानुनी प्रक्रिया अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
अन्तरक्रियाका क्रममा सहभागीहरूले आप्रवासी कामदारका अधिकार, सुरक्षाका उपाय, वैदेशिक रोजगारीका जोखिम तथा त्यसको न्यूनीकरणमा स्थानीय सरकार र सरोकारवाला निकायहरूको भूमिकाका विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू, नगरपालिकाका कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सुरक्षित आप्रवासनबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम पूर्वअध्यक्ष छविलाल दाहालले सञ्चालन गर्नु भएकाे थियाे भने अध्यक्ष सन्ताेष दाहालकाे सभापतिमा भएकाे थियाे ।























