उर्लाबारी,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित प्रत्येक जनप्रतिनिधिको जिम्मा लिने बताएका छन् । स्थानीय तहमा निर्वाचित भएर पाँच वर्ष काम गर्ने अनि परिणाम पनि देखाउने उनले बताए ।
आज नेपाली काँग्रेस नगर समितिले उर्लाबारी ७ बरगाछीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहका लागि पार्टीले ११ वटा मन्त्र बनाउँदै भने, ‘नेपाली काँग्रेसले जितेका स्थानीय तहमा ११ वटा मन्त्र अनुसार काम हुनेछन् ।’ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा केके काम गर्ने भन्ने कुरा निक्यौल गरेर विकासलाई अघि बढाउने उनले बताए ।
‘काँग्रेसबाट निर्वाचित मेयर अब मेयरसाव हुँदैन’ महामन्त्री थापाले भने, ‘अब मेयर जनताको बीचमा बस्ने छ ।’ पाँच वर्ष काम गरेर परिचित भइसकेका खड्ग फागोलाई पुनः मेयरमा जिताउन उनले उर्लाबारीबासीलाई आग्रह गरे । फागोका नगर विकासका योजना आफूले सुनेको बताउँदै थापाले भने, ‘उहाँको काम गर्ने इच्छा सुनेको छु । विगतमा असहयोग हुँदा हुँदै पनि उल्लेखनीय कार्य गर्न सक्नुभयो ।’ पाँच वर्ष काम गर्ने क्रममा प्रदेश सरकारले लगातार असहयोग गरेको र संघीय सरकार अनुदार भएका कारण काम गर्न समस्या परेको उनले बताए ।

सभालाई सम्बोधन गर्दै उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले पाँच वर्षे कार्यकालमा आफूले साढे ३१ महिना मात्र काम गर्न पाएको बताए । उर्लाबारीको विकास र समृद्धिका लागि कटिबद्ध भएर लाग्दा आफूमाथि विभिन्न अनर्गल प्रचार भएको बताउँदै फागोले नगरको विकासमा सिंह हुनु परे पनि तयार रहेको बताए । आफू नगर प्रमुख रहँदा एक रुपैयाँ भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको उनले बताए । विपक्षीहरुले आफूमाथि विभिन्न भ्रम सिर्जना गरेको बताउँदै उनले सत्य कुराको पछि लाग्न नगरबासीलाई आग्रह गरे । विगतमा अल्पमतमा परेका कारण भनेजस्तो विकास गर्न नपाएको भन्दै फागोले अबको निर्वाचनमा बहुमतले निर्वाचित गराउन अनुरोध गरे ।
कार्यक्रममा सभामा काँग्रेसका केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, काँग्रेस मोरङ क्षेत्र नं. १ का सभापति शंकर राई, उपमेयरकी उम्मेद्वार सीता कार्कीलगायतले मन्तव्य राखेका थिए । काँग्रेस नगर सभापति सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालनन नगर उपसभापति राजु लामाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय