उर्लाबारी । उर्लाबारी नगरपालिका–४ को नवनिर्मित वडा कार्यालय भवन बुधबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलले भवनको उद्घाटन गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान र ढिलासुस्ती गर्ने तथा सम्झौता अनुसार काम पूरा नगर्नेलाई कारबाही गरिने स्पष्ट पारेका छन् ।
उद्घाटन समारोहमा वडा कार्यालय निर्माणका लागि ४ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउने समाजसेवी सुरेन्द्रबहादुर निरौलालाई विशेष सम्मान गरिएको थियो। यसैगरी वडा विकासमा योगदान पुर्‍याएको भन्दै पूर्व वडा अध्यक्ष लक्ष्मीनारायण धिमाल, बालकृष्ण घोर्साई र मोहनप्रसाद अधिकारी तथा भवन निर्माण गर्ने गरिमा निर्माण सेवाका सञ्चालक घनश्याम कार्कीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले सहयोगी मन भएका व्यक्तिहरूको योगदानकै कारण विगतमा क्षतिग्रस्त संरचनाहरू पुनर्निर्माण गर्न सम्भव भएको बताएका छन् । उनले नगरपालिका सधैं नागरिकको सहयोगी भएर काम गरिरहेको उल्लेख गर्दै भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही गर्न पछि पर्न नहुने धारणा राखेका छन् । विगत चार वर्ष सहमतिका आधारमा नगरको विकासमा काम गरेको उल्लेख गर्दै सडक निर्माणलगायतका आयोजना समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिएका छन् ।
यसैगरी उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले हालसम्म नगरपालिकाका ७ वटा वडा कार्यालय भवन उद्घाटन भइसकेको जानकारी दिँदै पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् ।यसैगरी उर्लाबारी ६ का अध्यक्ष चिन्ता मणि पौडेलले अब ५ नम्बर वडा कार्यालय बनाउन बाँकी रहेको बताएका छन् ।
समारोहमा स्थानीय कलाकारहरूले संगिनी नृत्य तथा गायन प्रस्तुत गरेका थिए भने पञ्चेबाजाको सांगीतिक धुनका साथ नवनिर्मित भवनमा प्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष कल्याण कुमार राईले भवन निर्माणको कुल लागत भ्याटसहित १ करोड ७६ लाख रुपैयाँ रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय