पथरी । मोरङको को १९औँ नगरसभा बुधबार सम्पन्न भएको छ। नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न नगरसभामा विभिन्न समितिका प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८३/०८४ का नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो।
नगरसभामा नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, विधायन समिति संयोजक तथा वडा नं. २ का वडाध्यक्ष नैना राईले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ (दोस्रो संशोधन, २०८३) सभामा प्रस्तुत गरेका थिए।
यसैगरी, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विजय लिम्बुले सुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य पदम धिमालले न्यायिक समितिको वार्षिक प्रतिवेदन २०८३ सभामा पेश गरेका थिए।
नगरसभामा प्रस्तुत भएका सबै प्रतिवेदन तथा प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ। नगरसभाका निर्णय, नीति तथा बजेट सम्बन्धी विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नगर प्रवक्ता नविन कार्कीले जानकारी दिएका छन् ।
नगरसभाले आगामी आर्थिक वर्षका विकास, सुशासन, शिक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित योजनाहरू कार्यान्वयनका लागि आवश्यक मार्गनिर्देशन तय गरेको नगरपालिकाले जनाएको छ।























