विराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रक्रिया अगाडि बढाएको छ । बजेट तर्जुमा गर्ने क्रममा प्रदेशका १४ वटै जिल्लाबाट रायसुझाव संकलन गर्न शुक्रबार एकैपटक छलफल कार्यक्रम आयोजना गरेको छ ।

बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाहरु मसिनोसँग बुझ्ने र जनता तथा सरोकारवाला पक्षसँग छलफल अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले छलफलको तयारी भएको हो ।

प्रदेशका १४ वटै जिल्लाबाट सुझाब संकलन गर्न मन्त्री र उच्चपदस्त सरकारी कर्मचारीसहितको टोली खटिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । जिल्लामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिबीच आगामी बजेटबारे सुझाब संकलन र छलफल हुने उहाँको भनाइ छ ।

छलफलबाट स्थानीय तहको आगामी असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले भने असार १ गते बजेट ल्याउनेछ ।

बजेट सम्बन्धी छलफलका लागि ताप्लेजुङमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईको नेतृत्वमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख केशव कोइराला र शाखा प्रमुख योगेन्द्रनारायण चौधरीको टोली पुगेको छ । पाँचथरमा पर्यटन तथा संस्कृतिमन्त्री खिनु लुङ्वा लिम्बू, मन्त्रालयका सचिव किशोर चौधरी र प्रदेश लेखा इकाइ कार्यालयका पृथ्वी लिम्बूको टोली पुगेको छ ।

इलाममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूर्णकुमार लोक्सम, प्रदेश लोकसेवा आयोगका सचिव बाबुराम खतिवडा र आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख प्रिति कर्णले छलफल गर्नेछन् भने भोजपुरमा सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीको नेतृत्वमा मन्त्रालयका सचिव मोहन चापागाईं, प्रदेश योजना आयोगका सदस्य प्रकाश राई र आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख ऋषिकुमार खनाल पुगेका छन् ।

यसैगरी ओखलढुंगामा हुने छलफलमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव, सचिव अनुज भट्टचन र आर्थिक मामिला मन्त्रालयका डम्बरप्रसाद घिमिरेले बजेटबारे छलफल र सुझाब संकलन गर्नेछन् । उदयपुरमा आार्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक ममिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश लेखा ईकाइका जीवनराज भण्डारीको टोलीले छलफल गर्नेछ ।

सुनसरीमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, सचिव कृष्ण सापकोटा र प्रदेश योजना आयोगका सदस्य नारायण कोइराला, झापामा खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री रामकुमार राई, सचिव नविनकुमार सिंह र आार्थिक मामिला तथा योजना मन्त्रालयका पुष्पलता उप्रेतीसमेतको टोली छलफलमा सहभागी हुनेछ । मोरङमा हुने बजेट तर्जुमा कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सचिव जय घिमिरेलगायत सहभागी हुनेछन् ।

संखुवासभामा हुने छलफलमा वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा र सचिव संजीव राई, सोलुखुम्बुमा हुने छलफलमा यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे र सचिव उद्धवप्रसाद रिजाल, तेह्रथुममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र प्रदेश लेखा नियन्त्रक दामोदर खत्री, धनकुटामा उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङगाम र सचिव माधव पोखरेल तथा खोटाङमा कृषिमन्त्री झलकबहादुर मगर र सचिव मेघराज तिम्सिनाले छलफल गरि बजेटबारे सुझाब संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय