लेटाङ । मोरङको १९औँ नगरसभा अधिवेशन बुधबार सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६९ करोड ५० लाख ३० हजार ४०५ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
लेटाङ–५ स्थित ज्येष्ठ तथा अपांग नागरिक दिवा सेवा केन्द्रको सभाहलमा सम्पन्न नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। “संस्कृत समृद्ध नगर, लेटाङवासीको रहर” भन्ने नारासहित सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
नगरपालिकाले चालुतर्फ ४५ करोड ५८ लाख ६४ हजार ५०० रुपैयाँ र पुँजीगततर्फ २३ करोड ९१ लाख ६५ हजार ९०८ रुपैयाँ विनियोजन गरेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताएकी छन्। बजेटका स्रोतमा आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड तथा जनसहभागिता समेटिएको जनाइएको छ।
आगामी वर्षका प्रमुख कार्यक्रमअन्तर्गत १० शैयाको अस्पताल सञ्चालन, अन्तरधार्मिक शान्ति पार्क तथा पर्यटन प्रवर्द्धन, जाते खानेपानी आयोजनाको स्तरोन्नति, सडक कालोपत्रे, विद्यालय भवन निर्माण तथा स्तरोन्नति, शान्ति भगवती माध्यमिक विद्यालयमा छात्रावास निर्माण, सुशासन तथा संस्थागत विकासका योजनालाई प्राथमिकता दिइएको छ।
वडा तहका विकास कार्यक्रम सञ्चालनका लागि करिब ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा समेत बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
चालु आर्थिक वर्षको समीक्षा गर्दै नगरपालिकाले अन्तरधार्मिक शान्ति पार्क सञ्चालनमा आएको, १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको तथा शिक्षा र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ।
नगर प्रमुख भुपेन्द्र कुमार लावतीले सीमित स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै नागरिकको आवश्यकता, विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए। उनले आगामी वर्षका योजनाको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझाव समेट्दै पारित गर्ने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय