उर्लाबारी । उर्लाबारी नगरपालिकाले मञ्जुल मितेरी संग्रहालय स्थापना र ब्यवस्थापनमा पहल गर्ने भएको छ ।
आज उर्लाबारी नगरपालिकाको नगरसभाको नीति तथा कार्यक्रममा संग्रहालय स्थापना र ब्यवस्थापनमा पहल गर्ने भनिएको हो । उर्लाबारी नगरपालिका–६ निवासी मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गर्नुभएको थियो । वि.सं. २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले हालसम्म १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गरिसक्नुभएको छ । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना २०८४ सालभित्र पूरा गर्ने अर्को घोषणा उहाँले गरिसक्नुभएको छ । उहाँ अहिले जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणमा खटिरहनुभएको छ । राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने घोषणा गर्नुभएका बराइली २०७२ सालमा नगद ५० हजार राशीको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उहाँको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा बुद्धको मूर्ति कोर्दै आउनुभएका बराइलीले राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरिसक्नुभएको छ । राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको पहिलो मूर्ति निर्माण गर्नुभएका उहाँले हालसम्म ३ हजारभन्दा बढी ढुंगाका मूर्ति निर्माण गरिसक्नुभएको छ । उहाँकी श्रीमति कौशिला पनि मुर्तिकलामा आबद्ध रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय