भक्तिप्रसाद शिवाकोटी
‘लाइफ रिसर्च एण्ड पब्लिकेशन’ प्रालिका प्रकाशकबाट प्राप्त पुस्तक ‘चक्रवर्ती सम्राट’, (प्रेरक कथा संग्रह) पढी, गुनी आफूलाई लागेका कुराहरु प्रस्तुत गर्न लाग्दा पहिलो गाँसमै ढुंगा लाग्न पुग्यो । यस्तो अवस्थामा थोरै खल्लो लाग्नु त स्वाभाविक नै ठान्नु पर्दछ । तथापि आफैँभित्र गुम्स्याएर राखिछाड्नु भन्दा बाहिर ओकल्दा नै राम्रो पर्ला भन्ने ठानी आफूलाई लागेका कुराहरु व्यक्त यहाँ गर्न लागिएको हो ।

यस विचारसँग अरु धेरैको विचार नमिल्न पनि सक्दछ र यसो हुनुलाई नराम्रो मानिहाल्नु पनि हुँदैन । किनभने, ‘मुण्डे मुण्डे मर्तिभिन्न’ भन्ने त शाष्त्रको भनाइ पनि छँदैछ । यो मेरो विचार कतातर्फको सचेतता हो भने, हामी नेपाली भाषाभाषीहरुले आफ्नो भाषाको अवहेलना गर्नु भनेको आफ्नै अवहेलना गर्नु हो र यसको परिणाम घातक पनि हुन सक्दछ भन्ने हो । संसारमा आफ्नो धर्म संस्कृति र परम्परा भुल्नेहरुले आफ्नो भाषा र साहित्य पनि भुल्दै जाने खतरा बढेर परिणाम स्वरुप आफ्नो देश, राष्ट्र र राष्ट्रियता समेत गुम्न पुगी पछुताउनु बाहेक केही रहँदैन भन्ने गुनासो मात्र गर्न खोजिएको हो । भन्न खोजिएको के हो भने, ‘लाइफ रिसर्च एण्ड पब्लिकेशन’ प्रालिलाई नेपाली भाषामै उल्था गरेर पनि त प्रकाशन गर्न सकिन्थ्यो नि । सकिँदैन र ?

तथापि यस प्रकाशनबाट पोहोर साल प्रकाशित पुस्तक ‘चक्रवर्ती सम्राट’, (प्रेरक कथा संग्रह) एक सफल पुस्तक हो र यसमा प्रयुक्त पुस्तकको आकार तथा आवरणमा प्रयोग गरिएको रङ धेरै नै आकर्षक देखिएको छ । आवरण पृष्ठमा देखाइएको कला पनि कथाले बोकेका विषयहरुसँग अत्यधिक मिल्दोजुल्दो नै देखिन्छन् । ‘मनको कुरा’ शिर्षकको छोटो कथाबाट शुरु भएको यस प्रेरक कथा संग्रहमा जम्मा २८ वटा कथा संग्रहित रहेछन् । कथाकार लिलाराज खतिवडाको यस् प्रेरक कथा संग्रहबाट पक्कै धेरैजना पाठकहरु प्रेरित हुनसक्ने नै देखिन्छ । पहिलो कथामा मानिसले मनभित्र जुन कुरा सोचिरहेको हुन्छ त्यही कुरा बाहिर पनि प्रकट गर्ने गर्दछ भनेर उदाहरण समेत दिइएको छ । विपनामा पूरा हुन नसकेका अभिप्साहरु सपनामा पूरा हुने गरेजस्तै मनको कुरा खोतल्ने काम यस छोटो कथाले गरेको छ ।

एक्काइसौं कथा ‘तरवारबाजी’मा प्राप्त शिक्षाअनुसार मानिसमा बाहिरी र भित्री गरेर २ प्रकारका ज्ञान हुन्छन् । बाहिरी ज्ञान हासिल गर्न आँखा खोल्नु पर्दछ । अनि भित्री ज्ञानका लागि भने आँखा बन्द गरेर ध्यानस्थ हुनु जरुरी छ । यो विषयबारे अरु ज्ञान हासिल गर्न भने चर्म चक्षु र दिव्य चक्षु प्रयोजनमा ल्याउनु पर्ने कुराको वोध हुन थाल्दछ । सारांशमा भन्नु पर्दा यो कथा अत्यधिक प्रेरणाले भरपूर छ । यस संग्रहभित्र रहेका छोटा कथाहरु मध्येको ‘पागल’ कथा छोटो रहेर पनि राम्रो शिक्षा दिन सफल देखिन्छ ।

रहस्यदर्शनको सेरोफेरो भित्र रहेर कथाकारले ‘म को हुँ’ शिर्षकमा एउटा उपन्यास समेत लेख्नु भएको रहेछ । यस उपन्यासलाई पाठकहरुले धेरै नै राम्रो कृतिका रुपमा लिएका रहेछन् । साथै समिक्षकहरुले लेखक खतिवडाको उपन्यासलाई एउटा अभूतपूर्व र फरक प्रयोग गरिएको कृति भनेर व्याख्या गरेका रहेछन् । यसरी समिक्षकहरुको नजरमा राम्रो कथाकारको रुपमा उभिन सक्नु पनि लेखकको सफलताको कसी हो भन्दा अत्युक्ति नहोला ।

‘चक्रवर्ती सम्राट’का प्रकाशकसँग केही वर्ष पहिले झापामा मेरो भेट भएको थियो । त्यस् भेटमा उनको हालचाल सोद्धा हाल अध्ययनरत रहेको र लाइफ रिसर्च पब्लिकेशन खोलेर साथीहरुको मद्दतमा पुस्तक प्रकाशन गर्ने कार्यमा होमिएको जवाफ आयो । यसपटक उनको प्रकाशनबाट बजारमा आएको प्रस्तुत पुस्तक अध्ययन गर्ने मौका मिल्यो । सर्सती अध्ययन गर्दा यो पुस्तक प्रेरणादायी लाग्यो । यस संग्रहमा रहेका सबै कथाहरु ज्ञानबद्र्धक र शिक्षाप्रद रहेछन् । साथै सबैले यसलाई खोजेर पढ्नु जरुरी ठान्दछु ।
मेचीनगर १२, झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय