✍ शिवहरि खतिवडा
अमेरिका लगायतका विकसित देशमा सार्वजनिक स्थानमा इन्टरनेटको सुविधा हुनु ठुलो कुरा होईन । यस्ता इन्टरनेट प्रदान गर्नको लागि विभिन्न कम्पनीले योजनाहरु ल्याउने गरेका छन् । स्टारबक्स, डन्किन, म्याकडोनाल्ड लगायतका प्रायजसो सबै स्थानमा सित्तैमा इन्टरनेटको व्यवस्था पनि गरिएको हुन्छ ।

हाम्रो घरमा इन्टरनेट सेवा प्रदान गर्ने एक्सफिनिटी, भराइजन लगायतका कम्पनीहरुले त सार्वजनिक रुपमा जहाँ गएपनि इन्टरनेट चलाउन मिल्नेगरी हटस्पटको योजना पनि ल्याएका छन् । तपाई यी कम्पनीका ग्राहक हुनुभएपछि यी कम्पनीहरुको इन्टरनेट जहाँ गएपनि प्रयोग गर्न पाउनुहुने छ । यस्ता इन्टरनेट देख्नेवित्तीकै हामी इन्टरनेटमा आफ्ना मन परेको कुराहरु खोल्न थालिहाल्छौं । यो सुविधालाई धेरै ग्राहकहरुले मन पराउने भएरै हो अहिले हवाईजहाजदेखि सार्वजनिक बससम्म सित्तैमा इन्टरनेटको सुविधा दिने गरिएको छ ।

इन्टरनेटको यस्तो सुविधाले धेरैलाई मनोरञ्जन दिने गरेको भएपनि केहीलाई भने यो पिडादायी पनि हुने गरेको छ । सार्वजनिक इन्टरनेटको विषमा बेला बेलामा अमेरिकी सञ्चार माध्यमहरुमा समाचारहरु पनि आउने गरेको छ । के यस्तो इन्टरनेट साँच्चिकै सुरक्षित हुन्छ त ? आज हामी यसका केही जोखिमको विषयमा कुरा गर्न गइरहेका छौं ।

के सार्वजनिक इन्टरनेट सुरक्षित हुन्छ ?

यसको सिधै उत्तर हो, हुँदैन । तपाई हामीले घरमा प्रयोग गर्ने इन्टरनेटभन्दा यस्ता सार्वजनिक स्थानमा रहेका इन्टरनेटहरु धेरै ह्याकरको निशानामा पर्ने गर्छन । केही समय अगाडि स्टारबक्सको इन्टरनेट ह्याक गरेर ग्राहकको कम्प्यूटरबाट क्रिप्टोको कारोबार गरेको समाचार आएको थियो । ह्याकरहरुलाई विमास्थल, कफी सप, लाइब्रेरीहरुको इन्टरनेट ह्याक गर्न सजिलो हुने पाईएको थियो । उनीहरुले सामान्य डिभाइस र विना डिभाइस पनि इन्टरनेट प्रयोगकर्ताहरुको कम्प्यूटर तथा मोबाइलमा रहेको डाटा चोरी गर्न सफल भएका थिए । कमजोर राउटर पासवर्ड हुनु र इन्क्रिप्सनको प्रयोग नहुनु सार्वजनिक इन्टरनेटको अवगुणहरु हुन् ।

इन्क्रिप्सनले इन्टरनेटमा पठाउने जानकारीलाई तोडमोड गर्ने काम गर्छ र सिमित कम्यूटरले मात्रै बुझ्ने भाषामा रुपान्तरण गर्छ । यो एक किसिमको कोडमा रहन्छ जुन अरूले पढ्न सक्दैन तर कफी पसल वा बाहिरको वाईफाइको प्रयोग गर्दा यस्तो नहुन पनि सक्छ । यदि यस्तो गरिएको छैन भने तपाईले लग-इन गरेको साइटमा भएको जानकारी अरुले सजिल्यै देख्न र पढ्न सक्छ । जसले तपाईको लग इन गरिएको जानकारी लिएर तपाइँको जस्तै गरेर तपाईको साइडमा (अहिलेलाई मानौं फेसबुकमा) लग इन गर्न सक्छ । अहिले त नयाँ-नयाँ ह्याकिङ उपकरणहरू अनलाईनमा पाईन्छ जसले ह्याकरहरुलाई अरु सजिलो बनाएको छ । मानौं कोही खराब नियत भएको व्यक्ति कफी सपको एउटा कुनामा बसेर यो सबै गरिरहेको छ भने उसले तपाईको गोप्य सुचना सजिल्यै हात पार्न सक्छ

यस्तो अवस्थामा तपाईले इ-बैकिंग वा अरु संवेदनशिल अनलाईन खाताहरु खोल्नुभयो भने त्यसको जानकारी पनि उत्त व्यक्तिकोमा पुग्न सक्छ । स्क्यामरले तपाइँको व्यक्तिगत वा वित्तीय जानकारी प्राप्त गर्यो भने, उसले तपाइँको पहिचान चोर्न सक्छ र त्यसैको आधारमा तपाईलाई जानकारी नै नभएको वित्तीय कारोबारहरु तपाईको नाममा हुन सक्छ । एक सामान्य वाईफाई प्रयोग गरेकै भरमा ठूलो वित्तिय नोक्सानी हुनु गम्भीर समस्या हो । त्यसैले सकेसम्म जहाँ पायो त्यही सार्वजनिक इन्टरनेट प्रयोग नगरेकै राम्रो ।

के सबै यस्ता इन्टरनेट असुरक्षित हुन्छ ?

सबै असुरक्षित नै हुन्छ भन्न सकिँदैन । हुने भए त किन यस्तो व्यवस्था गरिन्थ्यो होला र ? सबैभन्दा पहिला त यस्ता इन्टरनेटको अवधारणा कुनै वित्तीय कारोबारलाई सहज बनाउन वा कसैले गोप्य काम आफ्नो कफीसपमा आएर गरुन भनेर सुरु गरिएको होईन । यो मनोरञ्जन र अत्यावश्यक कामको लागि दिईएको सुविधा हो । अत्यावस्यक काम भनेको कसैलाई जीपिएस हेर्नु छ वा कसैले कफी पिउँदै अनलाईनमा समाचार पढेर बसुन भन्ने पनि हुन सक्छ । प्रविधिको विकाससंगै अहिले धेरै सुरक्षित इन्टरनेटका उपकरणहरु आएका छन् । इन्टरनेट सेवा प्रदायकले पनि यस्ता सेवालाई सुरक्षित बनाउन जोडतोडले काम गरिरहेका छन् । तर पनि यस्ता इन्टरनेटलाई सुरक्षित छ भनेर अमेरिकी सरकारले भनिसकेको छैन । यहाँको फेडरल टेड कमिशनको यो पेजमा अहिले पनि यस्ता इन्टरनेट सुरक्षित छैन नै भनिएको छ । त्यसैले अहिलेलाई कसेसम्म यस्ता इन्टरनेटको प्रयोग नगरे कै राम्रो । गर्नै परे पनि आफ्नो गोप्य जानकारीहरु भएको अनलाईनहरु यस्ता इन्टरनेटको प्रयोग गरेर नखोलेकै राम्रो । अब खोल्नै परे के गर्ने ? त्यसको पनि उपायहरु छन् ।

प्रयोग भएको वेभपेजमा ध्यान दिनुहोस

अहिले धेरै वेभसेवा दिनेहरुले आफैले डाटा इन्क्रिप्सन गर्ने सुविधा ल्याएका छन् । https पछिल्लो र सजिलो उपाय हो । यदि कुनै साइडमा अगाडि https छैन र http मात्रै छ भने त्यो साइडमा रहेको सुचनाहरु सुरक्षित पुलमा वा इन्क्रिप्ट गरिएको छैनन भन्ने बुझ्नु पर्छ । तर चोर संधै एक कदम अगाडि भने जस्तो अहिले स्क्यामरहरुले पनि https को प्रयोग गर्न थालेका छन् । त्यसैले अब यसलाई पनि सुरक्षित नै हुन्छ भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था छैन । आफुले प्रयोग गरेको साइड सक्कली हो वा होईन जान्नु महत्वपूर्ण भइसकेको छ । http मात्रै भएको साइड खोल्दा भने धेरै विचार पुर्याउनुपर्ने हुन्छ ।

VPN को प्रयोग

अहिलेसम्मकै सबैभन्दा धेरै सुरक्षित मानिएको VPN को प्रयोग नै हो । यो सार्वजनिक स्थानमा मात्रै नभएर आफ्नो घरमा पनि प्रयोग गर्ने गरिन्छ । VPN पनि स्क्यामरहरुको चासोमा रहेकोले सक्कली कम्पनीको मात्रै VPN प्रयोग गर्ने बारेमा भने निकै चनाखो हुनु आवश्यक छ । VPN जसलाई भर्चुअल निजी नेटवर्क पनि भनिन्छ, एक इन्टरनेट पुल हो जसले तपाईले प्रयोग गरेको अनलाईन गतिविधीहरु VPN सेवा प्रदान गर्ने कम्पनीको सर्भरमार्फत आदान-प्रदान हुन्छ । यस्तो गेटवेयलाई VPN ले इन्क्रिप्शन गर्ने गर्दछ । असुरक्षित सार्वजनिक इन्टरनेट प्रयोग गर्दा VPN को प्रयोग भएको छ भने तपाइँ अनलाइन के गरिरहनु भएको छ भनेर जान्न खोज्नेले सजिल्यै त्यसलाई देख्न सक्दैन । यो प्रविधि पछिल्ला समयमा निकै रुचाईएको प्रविधि हो । VPN ले प्रयोगकर्ताको ठेगाना पनि परिवर्तन गर्न सघाउने भएकोले केही गलत नियत भएकाहरुले पनि यसको प्रयोग गर्दछन् । तर गलत कामको लागि VPN ले सहयोग गर्दैन किनभने सरकारी निकायले खोजेको समयमा यस्ता कम्पनीले तपाईको गतिविधीको पर्दा उघारिदिनुपर्ने कानून छ ।

प्रयोग गर्नुस मोबाइल डाटा, यसबाट हुँदैन घाटा

हामीले मोबाइलको सीम खरिद गर्ने समयमा सबैभन्दा पहिला मासिक बीलको विषयमा हेर्ने गर्छौं । मोबाइल डाटा बढी भयो भने बील पनि महँगो हुन्छ र हामी सस्तो बीलको लागि कम डाटा भएको योजना लिन पुग्छौं । यो योजनाले बाहिर धेरै नहिड्ने वा मोबाइल इन्टरनेट धेरै नचलाउनेहरुलाई त फाइदा हुन्छ तर बाहिर हिड्नेहरुको लागि भने सार्वजनिक इन्टरनेटको भर पर्नु निकै जोखिमपूर्ण छ । अहिले मासिक ५० डलरमा अनलिमिटेड मोबाइल इन्टरनेट पाईन्छ । सार्वजनिक इन्टरनेट चलाउँदा हुने हानी भन्दा यो रकम धेरै कम हो । मोबाइल डाटा प्रायजसो सबै इन्क्रिप्टेड हुन्छ र सार्वजनिक वाईफाई भन्दा निकै सुरक्षित मानिन्छ ।

यदि यी माथिका सबै कुराहरु गर्न असमर्थ हुनुभयो र सार्वजनिक इन्टरनेटको प्रयोग गर्नै गरेको खण्डमा पनि निम्न केही विषयमा ध्यान दिन आवश्यक छः

– व्यक्तिगत र गोप्य जानकारी भएको वेभ तथा एप्लिकेशनहरु नखोल्नुहोस ।

– वेभपेज सुरक्षित भएको विस्वस्त हुने अवस्थामा मात्रै आफ्नो व्यक्तिगत विवरणहरु भर्नुहोस ।

– कुनै पनि वेभ तथा एप्लिकेशन प्रयोग गरे पछि लग आउट गर्ने बानी बसाल्नुहोस ।

– पासवर्डहरु प्रयोग गर्दा बलियो वा सजिल्यै अनुमान गर्न नसकिने किसिमको प्रयोग गर्नुहोस र एउटै पासवर्ड धेरै स्थानमा प्रयोग नगर्नुहोस

– सकेसम्म पासवर्ड परिवर्तन गरिरहने बानी बसाल्नुहोस ।

– आफै वाईफाई कनेक्ट हुने मोबाइलको सेटिंग बन्द गर्नुहोस ।

– आफ्नो अनलाईन अकाउन्टहरु बेला बेलामा चेक गरिरहने बानी बसाल्नुहोस (सुरक्षित अवस्थामा) ।

– बैकिंग तथा उपलब्ध भएसम्म सबै स्थानमा Two Factor Authentication (TFA) सेवा सुचारु गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय