नगरप्रमुखज्यू,
उर्लाबारी नगरपालिका, मोरङ ।
उर्लाबारी–७ मा नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा समावेशी पार्क निर्माण गर्ने गृहकार्य भइरहेको भन्ने जानकारी आएको छ । समावेशी, सुन्दर र व्यवस्थित पार्क निर्माण गर्ने सोच आफैंमा सकारात्मक छ । नागरिकका लागि खुला स्थान, हरियाली र मनोरञ्जनको वातावरण निर्माण गर्नु स्थानीय सरकारको जिम्मेवारी पनि हो । तर, विकास निर्माणका हरेक काममा एउटा प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ— कुन ठाउँमा, कुन समयमा र कुन प्राथमिकताका आधारमा लगानी गर्ने ? यही प्रश्न उर्लाबारी–७ को प्रस्तावित समावेशी पार्कको विषयमा पनि उठाउन आवश्यक देखिन्छ ।
उर्लाबारीलाई ‘सिमसारै सिमसारको शहर’ भनेर चिनिन्छ । यहाँ रहेका सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझै पर्याप्त लगानी हुन सकेको छैन । भएका प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनमा पर्याप्त ध्यान दिनुपर्ने अवस्थामा चोकैपिच्छे नयाँ पार्क निर्माण गर्दै राज्यको ठूलो रकम खर्च गर्नु कति उचित होला ? यसबारे गम्भीर समीक्षा आवश्यक छ । तर, यो विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उर्लाबारी–७ को उक्त जग्गा अहिले स्थानीय युवादेखि बालबालिकासम्मको खेलमैदानका रूपमा विकास हुँदै जानु हो । दैनिक ५० भन्दा बढी युवा तथा बालबालिका त्यहाँ फुटबललगायतका खेलमा सहभागी हुँदै आएका छन् । कुनै औपचारिक योजना र ठूलो सरकारी बजेटबिना एउटा खाली जमिनलाई स्थानीय समुदायले आफैं प्रयोग गर्दै खेलमैदानको स्वरूप दिएको छ । त्यो मैदान खाली जमिन होइन, बालबालिका र युवाको खेल्ने, सिक्ने, रमाउने र आफ्नो प्रतिभा विकास गर्ने ठाउँ बनेको छ । त्यसैले प्रश्न उठ्छ–‘समुदायले आफैं विकास गरिरहेको खेलमैदानलाई मासेर त्यही ठाउँमा पार्क बनाउनु कति उचित होला ?’ आजका बालबालिका र युवालाई मोबाइल र सामाजिक सञ्जालबाट बाहिर निकालेर मैदानमा ल्याउनुपर्ने आवश्यकता छ । उनीहरूलाई खेल्ने ठाउँ चाहिएको छ । खेलकुदले स्वास्थ्यसँगै अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक भावना विकास गर्छ ।
यस्तो अवस्थामा भएको खेलमैदानलाई संरक्षण गर्नुको सट्टा त्यसलाई हटाएर अर्को संरचना निर्माण गर्ने निर्णय दीर्घकालीन रूपमा पुनर्विचार गर्नुपर्ने विषय हो । नगरपालिकाले पार्क नै बनाउन चाहेको हो भने पनि खेलमैदानको विकल्प समाप्त हुने गरी होइन, स्थानीय आवश्यकता र जनभावनालाई सम्बोधन हुने गरी योजना बनाउन सकिन्छ । सम्भव भए सोही क्षेत्रलाई खेलमैदानसहितको खुला तथा समावेशी सार्वजनिक क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । यसले बालबालिका, युवा, ज्येष्ठ नागरिक र अन्य समुदाय सबैको आवश्यकता समेट्न सक्छ । विकास भनेको नयाँ संरचना बनाउनु मात्र होइन । पहिले नै समुदायले प्रयोग गर्दै आएको संरचना र सार्वजनिक स्थानको संरक्षण गर्नु पनि विकास हो ।अहिले उर्लाबारीमा पार्कभन्दा प्राथमिकतामा राख्नुपर्ने धेरै विषय छन्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सरसफाइ, सिमसार संरक्षण तथा खेलकुद पूर्वाधार । यी आधारभूत आवश्यकतामा पर्याप्त लगानी गर्न सके नागरिकले स्थानीय सरकारको उपस्थितिलाई अझ मजबुत रूपमा अनुभूति गर्न सक्नेछन् । पार्क आवश्यक छ । तर, हरेक खाली जग्गा पार्कका लागि मात्र होइन । कुनै ठाउँ बालबालिकाको खेलमैदान हुन सक्छ, कुनै ठाउँ सामुदायिक प्रयोजनका लागि आवश्यक हुन सक्छ र कुनै ठाउँ भविष्यको सार्वजनिक पूर्वाधारका लागि सुरक्षित राख्नुपर्ने हुन सक्छ । त्यसैले नगरपालिकाले कुनै पनि निर्णय लिनुअघि स्थानीय बासिन्दा, युवा, बालबालिका, खेलाडी, अभिभावक तथा सरोकारवालासँग पर्याप्त छलफल गरोस् भन्ने विनम्र आग्रह छ । आज एउटा पार्क बनाउँदा हामीले भोलिको पुस्ताको खेल्ने मैदान गुमाउनु नपरोस् । भोलि आवश्यकता र प्राथमिकता पहिचान गरेर पार्कलगायत अन्य सुविधा विस्तार गर्न सकिन्छ । तर एकपटक खेलमैदान गुमेपछि त्यसलाई पुनः प्राप्त गर्न सहज हुँदैन । अन्ततः नगरप्रमुखज्यू र सम्पूर्ण जनप्रतिनिधिज्यूहरूलाई विनम्र अनुरोध छ— एउटा पार्क बनाउनका लागि एउटा पुस्ताको खेल्ने मैदान नहराऔँ । विकास गरौँ, तर आवश्यकता र प्राथमिकता पहिचान गरेर गरौँ । संरचना थपौँ, तर समुदायले जोगाएको संरचना नमासौँ । उर्लाबारीलाई सुन्दर मात्र होइन, बालबालिका र युवाका लागि खेल्न सक्ने, स्वस्थ र अवसरयुक्त शहर पनि बनाऔँ ।
—खेल शुभचिन्तक























